खाँचोमा परेका जनतालाई सरकारको तर्फबाट हरसम्भव सहयोग गरिरहेका छौः मुख्यमन्त्री गोले
गान्तोक: राजधानी स्थित सम्मान भवनमा राज्यका मुख्य मन्त्री प्रेमसिंह तामाङ गोलेको उपस्थितिमा विशेषगरी नाम्चीस्थित पोकलोक कामराङ निर्वाचन क्षेत्रका जनताहरुलाई चेक तथा नोकरीको नियुक्ति पत्र वितरण गरिने कार्यक्रम सम्पन्न भयो। उपस्थित जनसमुदायलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले पछिल्लो समयमा सहुलियत वितरण गर्ने कार्यक्रममा पोकलोक कामराङ क्षेत्रका लाभार्थीहरुलाई कतिपय कारणवश सहुलियत वितरण गर्न नपाउँदा कुनै दिन सम्मान भवनमा निमत्याएर सहुलियत वितरण गर्नेछु भन्ने आफ्नो वाचा पूरा गर्दै यो कार्यक्रम आयोजना गरिएको बताए। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले विगतको सरकारमा मुख्यमन्त्री कोष कहिले पनि जनताको लागि प्रयोग नभएको तर पूर्व मुख्यमन्त्रीले आफ्नै फाइदा र नातेदारहरुका लागि मात्र प्रयोग गरिराखेका थिए भन्ने कुरा बताउँदै एस.के.एम सरकार गठन भएपछि मुख्यमन्त्री कोषमा भएको धनराशि मात्र जनतालाई सेवा र सहयोग पुर्याउन प्रयोग भइरहेको बताए। खाँचोमा परेका जनताहरुलाई सरकारको तर्फबाट हरसम्भव सहयोग भइरहेको उनले जानकारी दिए। विभिन्न रोगले ग्रस्त व्यक्तिहरुलाई सरकारले निःशुल्क उपचार गराइरहेको र गम्भीर विरामीहरुले पनि जीवनदान पाइरहेको कुरा उनले उल्लेख गरे। पहिला सिक्किमका धेरै विद्यार्थीले आफुले चाहेजस्तो पढ्न नपाउँदा धेरै कुण्ठाग्रस्त अवस्थामा बाँच्नु पर्थ्यो र आफ्नो लक्ष्य र इच्छाहरूलाई तिलाञ्जली दिनु पर्ने अवस्था थियो साथै आमा-बाबुले पनि छोराछोरीले चाहे जस्तो पढाउन सक्ने अवस्थामा नहुँदा कहीँबाट पनि साहरा पाउँदैन थिए तर वर्तमान सरकारले उच्च शिक्षा हासिल गर्न चाहने गरीब विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको कारण आज गरीबका छोराछोरीहरुले पनि एमबीबीएस, इन्जिनियरिङ आदि उच्च शिक्षा लिन सक्षम रहेको कुरा बताए। पश्चिम सिक्किम गांग्यापका एकजना निम्न परिवारको नानीलाई सरकारले रुपियाँ ५० लाख सहयोग गरेर इंगल्याण्डको केम्ब्रिज विश्वविद्यालयमा एम फिलको शिक्षा हासिल गर्न पठाइरहेको पनि उनले जानकारी गराए। आफू पनि विद्यार्थी छँदा विश्वविद्यालयसम्मको शिक्षा हासिल गर्ने लक्ष्य रहेको भएतापनि घरको आर्थिक स्थिति कमजोर भएकोले कलेजसम्मको शिक्षा लिएर नोकरी गर्न वाध्य बनेका दिनहरु सम्झना गर्दै आज कुनै गरीब घरका नानीहरु उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नरहोस् भनेर नै उनले मुख्यमन्त्री कोषबाट विद्यार्थीहरुलाई सहयोग गरिरहेको कुरा बताए।
अर्को वर्षदेखि राज्यका प्रत्येक निर्वाचन क्षेत्रमा १००० हाउस अपग्रेडेशनको राशिलाई २५/२५ हजार गरेर दुई किश्तमा प्रदान गर्ने उनले जानकारी दिए। आमा योजनामा पाइरहेको २० हजार रुपियाँलाई बढाएर ४० हजार बनाउने साथै जुन आमाले धेरै व्याङ्क ट्रान्जिक्सन गर्न सफल हुनेछ उनीहरूलाई ३लाख पुरस्कार राशि पनि प्रदान गर्ने योजना रहेको कुरा मुख्य मन्त्रीले बताए। वर्तमान सरकारको राम्रो काम देखेर नै विगत १० अगस्तको दिन विराट जनसमुह रम्फुमा भेला भएको उनले बताए। यसरी अन्तिम समयमा विभिन्न प्रलोभन देखाउँदै अन्यहरु आएपनि सधैं राज्यवासी हितमा रहेको एसकेएम पार्टीलाई साथ दिएर टेबल ल्याम्पको चिन्हमा भोट दिएर विजय बनाउने आह्वान गरे। आजको कार्यक्रममा उपस्थित सबैलाई उनले आगामी १५ अगस्तमा सम्पन्न हुने स्वतन्त्रता दिवसको अगावै शुभकामना व्यक्त गर्दै देशका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिए अनुसार सिक्किमका प्रत्येक राज्यवासीले पनि `हर घर तिरंगा´ लाई पालन गर्दै आ-आफ्नो घर अनि वाहनहरुमा पनि देशको झण्डा फहराएर देशलाई सम्मान दिने आव्हान गरे। आजको कार्यक्रममा २९९ वटा हाउस अपग्रेड्सनकालागि, ६० जना विद्यार्थीहरुलाई शिक्षाकोलागि, ३ जनालाई नव व्यवसाय थाल्नीको लागि चेक वितरण गर्ने कार्यक्रम गरियो भनेदेखि ५८ जना युवाहरुलाई नोकरीको नियुक्ति पत्र प्रदान गरियो।









