पूर्वी भारतमा देश विकासको बलियो इञ्जन बन्ने क्षमता छ: प्रधानमन्त्री

00-1-PM-Modi-3

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार भने, ‘पूर्वी भारतमा देश विकासको एक बलियो इञ्जन बन्ने क्षमता छl’ प्रधानमन्त्रीले पश्चिम बंगालको कोलाघाटमा क्षेत्रीय पञ्चायती राज परिषदको उद्घाटनको अवसरमा भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ताहरूलाई भर्चुअली सम्बोधन गरिरहेका थिए। उनले विपक्षी गठबन्धन आई.एन.डी.आई.ए.-माथि तीव्र प्रहार गर्दै भने, ‘हामीले संसदमा विपक्षको अविश्वास प्रस्तावलाई परास्त गऱ्यौं साथै देशभरि नकारात्मकता फैलाउनेहरूलाई पनि गतिलो जवाफ दियौं। स्थिति यहाँसम्म पुग्यो कि विपक्षकाहरू चर्चाको बीचमै सदन छोड़ेर भागे। वास्तवमा विपक्ष अविश्वास प्रस्तावमाथि भोटिङ्गदेखि डराएको थियो। उनीहरू भोटिङ्ग चाहँदैन थिए, किनभने भोटिङ्ग भएको भए ‘घमण्डिया’ गठबन्धनको पोल खोलिन्थ्यो, को कसको साथमा छ भन्ने कुरा दूधको दूध पानीको पानी हुन्थ्योl’

प्रधानमन्त्रीले भने, ‘विपक्षलाई मणिपुरको चिन्ता छैन। उनीहरू मणिपुरको मुद्दामा चर्चा चाहँदैनन्। विपक्षका मानिसहरू सदन छोड़ेर भागेको सारा देशले देखेको छ। तर यो दुःखदायी छ कि यिनीहरूले मणिपुरका मानिसहरूसित ठूलो विश्वासघात गरे। सत्र आरम्भ हुनअघि नै देशका गृहमन्त्रीले यी राजनीतिक दलहरूलाई चिट्ठी लेखेर भनेका थिए, उनी तत्काल मणिपुर मुद्दामा चर्चा गराउन चाहन्छन्, किनभने मणिपुरको मुद्दामाथि मात्र विस्तृत चर्चा हुन आवश्यक छ। यस्तो संवेदनशील विषयमा पक्ष-विपक्षमाझ बातचित भएको भए मणिपुरका मानिसहरूलाई राहत हुन्थ्यो र समस्याको समाधानका केही नयाँ बाटोहरू निक्लिन्थे। तर यिनीहरू मणिपुरमाथि चर्चा चाहँदैनथे। किनभने उनीहरूलाई राम्ररी थाहा थियो कि मणिपुरको यथार्थले सबैभन्दा बढ़ी उनीहरूलाई नै चोट दिनेवाला थियोl’

उनले अझ भने, ‘उनीहरूलाई मणिपुरका नागरिकहरूको दुःख-पीड़ाको परवाह थिएन। उनीहरूको लागि उनीहरूको राजनीति र देशभन्दा दल नै प्राथमिकता हो। यसैले उनीहरूले मणिपुरको चर्चालाई टारेर अविश्वास प्रस्तावलाई ल्याई राजनीतिक बहसलाई नै प्राथमिकता दिए। यिनीहरूले सदनमा व्यवधान सृजना गरे पनि हामी सबै भाजपा कार्यकर्ता र जनप्रतिनिधिहरूले जनतामाझ गएर यथार्थको हरेक पाटोसित मानिसहरूलाई अवगत गराउनैपर्छl’

प्रधानमन्त्रीले पश्चिम बंगालमा हालैमा सम्पन्न पञ्चायत चुनावलाई लिएर मुख्यमन्त्री  ममता ब्यानर्जीको नेतृत्वाधिन सत्तारूढ़ तृणमूल कंग्रेसमाथि प्रहार गरेl उनले तृणमूल कंग्रेसमाथि पञ्चायत चुनाव अवधि भाजपा उम्मेद्वारहरूलाई धम्काएको र बूथ क्याप्चरिङ्ग गरेको आरोप समेत लगाए। उनले अझ भने, ‘भाजपा उम्मेद्वारहरूले नामाङ्कन दर्ता गराउन नसकोस् भनेर तृणमूल कंग्रेसले जे पनि गर्छ। उनीहरूले भाजपा कार्यकर्तालाई मात्र नभएर मतदाताहरूलाई समेत धम्काउने काम गर्छन्। बूथ कब्जा गर्नको लागि ठेक्का दिइन्छ। यो राज्यमा राजनीति गर्ने उनीहरू (तृणमूल)-को शैली होl’

भाजपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘केही दिनअघि हरियाणाको स्थानीय स्वराजका प्रतिनिधिहरूसित बातचित गर्ने अवसर प्राप्त भएको थियो। पार्टीको कार्यक्रममा सहभागी हुन पाउँदा, कार्यकर्ताहरूसित भेटघाट गर्न पाउँदा मलाई सदैव एउटा नयाँ प्रेरणा र उत्साह प्राप्त हुन्छ। पूर्वी भारतमा देश विकासको एक मजबुत स्तम्भ, एक मजबुत इञ्जनको पूर्ण सामर्थ्य छ। त्यहाँ प्राकृतिक संसाधनहरूको भरिभराउ छ। त्यहाँ हाम्रा तेजस्वी, ऊर्जावान एवं ओजस्वी नागरिकहरूको पनि एउटा ठूलो सामर्थ्य छ। यसैले पूर्वी भारतका तपाईहरू सबै प्रतिनिधिहरूसित भेटघाट गर्न पाउनु आफै-आफमा महत्वपूर्ण हुन्छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement