बाग्राकोट: स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखियाको शालिग यही १५ अगस्त २०२३ को दिन गोपालधारा एम एस के छेउमा अनावरण हुनेछ। ११ तारिकको शुभ साइत र शुभ मुहुर्तमा शालिगलाई शालिग मञ्चमा उभ्याइयो। माधव बुढाथोकी र गोकूल कार्कीले वैदिक मन्त्रोच्चारणका साथ पूजा अर्चना गरेर उपस्थित कारिगर समुदायले शालिगलाई उभ्याए। प्रसिद्ध मूर्तिकार बाग्राकोटका अमीर सुन्दासले तयार गरेको स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखियाको पूर्णाङ्ग शालिगको अनावरण अवकाशप्राप्त मेजर जनरल बी डी राईले अमृत महोत्सव १५ अगस्त २०२३ को दिन पूर्ण सैनिक सम्मानका साथ गर्नेछन्। गोपालधाराका भूतपूर्व सैनिकहरूको विशेष प्रयासमा ब्रिगेड कमान्डर१२३ माउन्टेन ब्रिगेड अनि १०७ इन्फेन्ट्री बटालियन टी ए (११ जीआर) को विशेष टोलीले यो कार्यक्रम सम्पन्न गर्नेछन्। गोपालधारा एम एस केको प्रांगणमा तयार पारिएको कार्यक्रमस्थलमा सोही दिन गोपालधाराका वरिष्ठ व्यक्तित्वहरू मध्ये वयोबृद्ध प्रतिष्ठित साहित्यकारद्वय गोपीचन्द्र प्रधान अनि सचेन्द्र दुमी राई, गोपालधाराका पहिलो सेनाधिकारी कर्नेल एम एस लिम्बू, लोकप्रिय गायक अनि संगीतकार कर्म ग्याल्छेन अनि जितेन लेप्चा, संगीतका तीनजना नव प्रतिभाहरू क्रमैले मिङछामा राई, अश्मिक खवास र इनुङमा राई अनि नाट्य भूषण सी के श्रेष्ठलाई सम्बर्धना गर्ने कार्यक्रम रहेको छ। स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखियाको इतिहासलाई जिउँदो राख्न एउटा स्तरीय र संग्रहणीय स्मारिकाको विमोचन पनि मूख्य अतिथी र विशिष्ट अतिथीहरूको बाहुलीबाट हुनेछ। यो दिन विभिन्न सांगितिक कार्यक्रमहरू पनि राखिएको छ। साधना कला केन्द्र, मिरिक, वृन्दावन बोर्डिङ स्कूल, ड्रिम ल्याण्ड इङ्लिस स्कूलका विद्यार्थीहरू अनि स्थानीय कलाकारहरूले पनि आफ्नो कला प्रदर्शन गर्नेछन्। शालिग निर्माण समितिका अध्यक्ष प्रा कवीर बस्नेत र सचिव वाङडुप तामङले संयुक्त बक्तव्य जारी गर्दै गोपालधाराको जनताको दीर्घकालिन सपना अब पूरा हुन गइरहेको छ, यस विच यहाँका जोशिला युवाहरूदेखि वयोबृद्ध व्यक्तिहरूले यो कामलाई पूरा गर्न दिलोज्यानले खटेका छन्, क्षेत्रका अनगिन्ती सहयोगी हातहरूले तन मन र धनको सहयोगले नै यो ऐतिहासिक कार्य सफल हुन गैरहेको छ। प्रत्येकको सहयोगप्रति हामी शीर नत गर्दै आभारी छौं। गाउँका एक एक जना गाउँलेहरूको तन मन दुवै यो पवित्र कार्यमा समर्पित रहेको छ। स्मारिकाका प्रधान सम्पादक वरिष्ठ साहित्यकार, पत्रकार रआध्यात्मिक चिन्तक माधव बुढाथोकीले स्मारिकालाई आफ्नो चिन्तनशील र तथ्यपूर्ण लेखहरू प्रदान गर्ने विद्वान लेखक लेखक लेखिकाहरूप्रति आभार व्यक्त गरेका छन् साथै सबै सबैलाई निम्तो पुग्न नसकेता पनि खुला हृदयले अनावरण कार्यक्रममा उपस्थिति दिएर कार्यक्रमको शोभा बडाइदिन आग्रह गरेका छन्। उक्त दिनको कार्यक्रम तीन चरणमा पूरा हुनेछ।










