गान्तोकः पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले साढे चार वर्षको एसकेएम सरकारले सिक्किम र सिक्किमेको अधिकार र सुरक्षा उडाइसकेको आरोप लगाउँदै एसकेएम सरकार नहटाएसम्म सिक्किम सुरक्षित नबन्ने दाबी गरेका छन्। उनले वर्तमान सरकारमाथि सिक्किमको विशेष सुरक्षा कवच धारा ३७१ एफ तरलिकरण गरेको, साढे चार वर्षको अवधिमा राज्यलाई १५ हजार करोड रुपियाँको ऋणको बोझ बोकाएको, ६६ हजार करोड रुपियाँको बजेट पारित गरेर पनि जनताको पक्षमा कुनै काम नगरेको, व्यापार र आर्थिक शक्ति सबै राज्य बाहिरका मानिसहरूको हातमा सुम्पिएको साथै सरकारले क्रोनी क्यापिटलिस्टको पक्षमा मात्र काम गरेको गम्भीर बनेको आरोप लगाए। पूर्व मुख्यमन्त्री चामलिङले एसकेएम सरकारले राजनैतिक आतङ्कवाद चलाइरहेको पनि गम्भीर आरोप लगाएका छन्।

शनिवार गान्तोकको एसडीएफ भवनमा आयोजित अन्तरराष्ट्रिय युवा दिवस समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री पवन चामलिङले एसकेएम सरकारलाई सत्ताबाट हटाउनकै लागि एसडीएफ पार्टीले सिक्किम बचाऔँ अभियान शुरु गरेको बताए। एसकेएम सरकार सिक्किमको सत्ताबाट हटाएपछि मात्र सिक्किम सुरक्षित हुने ठोकुवा गर्दै सिक्किमका जनता र युवाले २०२४ मा एसडीएफलाई समर्थन गर्नुपर्ने बताए। आगामी चुनाउमा एसडीएफले सरकार गठन गरेर सिक्किम र सिक्किमेले गुमाएको अधिकार फर्काइ ल्याउने दाबीका साथ चामलिङले युवाहरूलाई राजनैतिक संघर्षका लागि तयार बन्न आग्रह पनि गरे।
एसडीएफ पार्टीले अहिलेसम्म सिक्किम र सिक्किमेको पक्षमा राजनीति गरेको र भविष्य पनि यस्तै हुनेछ भन्दै एसडीएफलाई युवा शक्तिले नेतृत्व दिन चाहन्छ भने त्यसका लागि पनि पार्टी तयार रहेको उनले बताए। एसकेएम पार्टीको जन उन्मुक्ति दिवसको अवसरमा मुख्यमन्त्री पीएस गोलेले आफूलाई दिनभरी गाली गरेको उल्लेख गर्दै पूर्व मुख्यमन्त्री चामलिङले एसकेएम सरकार चामलिङ र एसडीएफ पार्टीसँग डराएको स्पष्ट भयो भन्ने दाबी गरे।
10 अगस्तमा मुख्यमन्त्रीले गरेको भाषणले एसकेएम सरकार सत्ताबाट बाहिर जाने निश्चित भएको छ भन्दै २०२४ मा एसडीएफ सरकार गठन गरेर जनतालाई शान्ति र सुरक्षा दिनेछौं भने। उनले एसडीएफलाई शान्तिकारीको पार्टी बताएका छन्। समारोहलाई सम्बोधन गर्दै चामलिङले भने, “हामी युवाहरूलाई सबै क्षेत्रमा सक्षम र राजनीतिमा अग्रदस्ता बनाउन चाहन्छौं। आज सिक्किम गलत नेतृत्वका कारण विनासतर्फ गएको छ। यसकारण सिक्किमलाई बचाउन युवाहरू आत्मासम्मान र नैतिकतावान भएर राजनीतिमा आउनुपर्छ।”
२०२४ मा एसडीएफ पार्टीको सरकार निश्चित रुपमा बनिने दाबीका साथ पूर्व मुख्यमन्त्री चामलिङले २०२४ पछिको सरकार पूर्ण रूपले युवामुखी हुने बताए। यसका लागि सरकारले वान भोट वान जब कार्यक्रम सञ्चालन गर्ने बताए। सबैलाई सामुहिक रूपमा व्यवसायको अवसर सिर्जना गर्न प्रत्येक ग्राम पञ्चायतमा एउटा पर्यटन गन्तव्य बनाउने र एउटा मार्केटिङ सेन्टर सञ्चालन गर्ने बताए। एसकेएम सरकारले प्रत्येक सिक्किमेको शीरमा तीन लाख २२ हजार रुपियाँको ऋण बोकाएको र एसडीएफ सरकारले बनाएको नौसय करोडको सरप्लस बजेटलाई एसकेएमले घाटामा पुऱ्याएको एसकेएम सरकार नहटाएसम्म सिक्किम सुरक्षित बन्दैन भन्ने चामलिङले दाबी गरेका छन्।
युवा दिवस समारोहलाई पार्टीका युवा वक्ता डोमिनिक स्याङ्बो, वन्दना शर्मा, सुसिल राई, पुरण छेत्री, आदित्य प्रधान, सुमित्रा राई र प्रवक्ता रिक्जिङ नर्बु भोटियाले सम्बोधन गरेका थिए। उनीहरूले एसकेएम सरकार समक्ष कोभिड १९ फण्ड बारे स्वेतपत्र जारी गर्नुपर्ने, यस अवधी सरकारले गठन गरेको इकोनोमिक रिभाइभल कमिटीको रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गरे। यसरी नै वर्तमान सरकारले सडक मरम्मति, पर्यटन विकास, पूर्वाधार रखरखाउ कुनै पनि क्षेत्रमा कम नगरेको, सत्ता र क्षमता केन्द्रिकृत गरेको र बजेटलाई पूरण दुरपयोग गरेको आरोप लगाए।










