गान्तोकः सीमा सडक सङ्गठनको परियोजना स्वास्तिकमा कार्यरत सिक्किमका चार कर्मयोगी आफ्नो परिवारका साथ दिल्लीको ऐतिहासिक लाल किल्लामा १५ अगस्त, २०२३ को दिन विशेष अतिथिका रूपमा सहभागी बन्नेछन्। उक्त जानकारी पीआईबीले विज्ञप्तिमा दिएको छ। ऐतिहासिक लाल किल्लाको प्राचीरबाट प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रलाई सम्बोधन सुन्न आमन्त्रित १७०० जनामध्ये पचास यस्ता श्रमिक पनि सामेल छन्। देशव्यापी रूपमा देशको हरेक तह अनि तप्काका मानिसहरूलाई स्वतन्त्रता दिवसको अवसरमा सहभागी बन्न आमन्त्रित गर्ने कार्य सरकारको “जनभागीदारी”को परिकल्पना अनुरूप रहेको छ। नयाँ दिल्लीको स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिका रूपमा आमन्त्रित बीआरओका कर्मयोगी बादल राईले प्रधानमन्त्रीद्वारा लाल किल्लामा आमन्त्रित गर्नु उनको निम्ति मात्र नभएर सम्पूर्ण सिक्किमको निम्ति ठूलो सम्मानको कुरा रहेको बताएका छन्।
पत्नीसहित स्वयंलाई यस ऐतिहासिक क्षणको साक्षी बन्ने अवसर प्रदान गरेवापत् उनले सीमा सडक सङ्गठन अनि परियोजना स्वास्तिकप्रति आभार व्यक्त गरेका छन्। विगत १५ वर्षदेखि भारत-चीन सीमाको नथुला भञ्ज्याङसम्म पुग्ने संवेदनशील सडकमा बादल राईले काम गर्दै आइरहेका छन्। जीवनमा पहिलोपटक रेलको सवारी गर्नका साथै भारतको राजधानी पनि घुम्न जान पाएको उनी बताउँछन्। “लाल किल्ला घुम्न जाने मौका पाएकोमा म धेरै खुशी छु। पहिलोपटक म सिक्किम बाहिर स्वतन्त्रता दिवस हेर्न गाइरहेकी छु र जीवनमा पहिलोपटक नजिकबाट प्रधानमन्त्रीलाई सुन्ने मौका पाइरहेकी छु,” डिकी शेर्पाले बताइन्। डिकी शेर्पा विगत १० वर्षदेखि परियोजना स्वास्तिकमा कार्यरत छन्। यस्तै अर्का कर्मयोगी अप्पर बुर्तुकका सञ्चबहादुरले नयाँ दिल्लीको भ्रमणबारे अति नै उत्सुक रहेको र समारोहमा सिक्किमको पारम्परिक पोषाक लगाएर जाने बताए। परियोजना स्वास्तिकले विगत कैयौं दसकदेखि गान्तोकलाई सुदूर इलाकाहरूसँग जोड्नका साथै स्थानीयहरूलाई रोजगार प्रदान गरी सिक्किमको आर्थिक-सामाजिक विकासमा महत् भूमिका खेल्दै आएको छ।










