६ जुलाईः भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक राहुल द्रविड़ले बताएअनुसार, टेस्ट म्याचको तेस्रो ईनिंग्समा उनका ब्याटरहरू बारम्बार असफल हुनु चिन्ताको विषय हो। उनले यस मुद्दालाई हल गर्न राष्ट्रिय चयनकर्ताहरूसँग बैठक गर्नेछन्। द्रविड़को मार्गदर्शनमा भारतीय टीम विदेशमा आफ्नो गत तीनवटा टेस्ट म्याचमा पराजित भएको छ। यसमा दक्षिण अफ्रिकामा दुईवटा हार अनि मंगलवार बर्मिंघममा ३७८ रनको लक्ष्यलाई पनि बचाउन नसक्दा हासिल भएको लाजमर्दो हार सामेल छ। म्याचपछि बर्मिंघममा भारतको यस हारक विश्लेषण कसरी गर्नेछन् भनी प्रश्न गर्दा द्रविड़ले दुई दिनभित्र शुरु हुने टी२० अन्तर्राष्ट्रिय सीरीजलाई उल्लेख गर्दै हल्का मिजासमा भने, क्रिकेट यति धेर भइरहेको छ कि सोच्ने समय छैन। हामी दुई दिनपछि नै तपाईंसँग शायद एकदमै अलग थरीको कुरा गर्नेछौं।
त्यसपछि चाहिँ गम्भीर तरिकाले भने, हामी निश्चित रूपले यस प्रदर्शनमाथि विचार गर्ने कोशिष गर्नेछौं। हरेक म्याच हाम्रो निम्ति शिक्षा हो अनि हरेक हारबाट शिक्षा लिन सकिन्छ। म्याचको तेस्रो ईनिंग्समा हाम्रा ब्याटरहरूले किन असल प्रदर्शन गर्न सकिरहेका छैनन् अनि चौथो ईनिंग्समा हामी किन १० विकेट लिन सकिरहेका छैनौ भन्ने सोच्ने विषय बनेको छ।
भारतीय टीमले विश्व टेस्ट च्याम्पियनशीपको वर्तमान चक्रमा अझ ६ वटा टेस्ट म्याच खेल्नु छ अनि सबै म्याचहरू उपमहाद्वीप (चारवटा भारत अनि दुईवटा बंग्लादेशमा)-मा हुनेछ। द्रविड़ले टोलीका कमजोरीहरूको विश्लेषण गर्न चेतन शर्मा (चयन समितिका अध्यक्ष जो अहिले ईंग्ल्याण्डमा छन्)-सँग बैठकको योजना बनाएका छन्। उनले भने, अब रहल ६ वटा टेस्ट म्याच उपमहाद्वीपमा छ अनि हामीले ती म्याचहरूमा ध्यान दिनु पर्नेछ। चयनकर्ताहरूसँग बसेर यस हारको विश्लेषण गर्नेछौं। यो समीक्षा हरेक म्याचपछि हुन्छ। यसैकारण अब आउँदो समयमा एसईएनए देश (दक्षिण अफ्रिका, ईंग्ल्याण्ड, न्यूजील्याण्ड र अष्ट्रेलिया)-हरूका यात्रा गर्न अघि हामी यस समस्याको हल असल तरिकाले निकाल्न तयार हुनु पर्नेछ।
टीममा रविचन्द्रन अश्विनको अनुपस्थितिबारे प्रश्न गरिँदा द्रविड़ले भने, टेस्ट म्याचमा अश्विनको स्तरका खेलाड़ीलाई बाहिर राख्नु सजिलो हुँदैन तर म्याच शुरु हुन अघि सतहमा घाँस देख्दा हामीलाई यस पीचबाट पेस बलरहरूलाई अधिक सहायता प्राप्त हुने लाग्यो। यस म्याचमा रविन्द्र जडेजा र ज्याक लीचले पनि विकेटबाट अतिरिक्त कुनै सहायता पाएनन्। पत्रकारहरूसँग कुराकानीको क्रममा द्रविड़ले धेरैपल्ट ब्याटरहरूका निराशाजनक प्रदर्शनमाथि चिन्ता व्यक्त गरे। उनले भने, यी सबै टेस्टहरूमा हामीले विशेषगरी तेस्रो ईनिंग्समा असल ब्याटिंग गर्न सकेनौं। यसैकारण हामीले पहिला दक्षिण अफ्रिका अनि अहिले यहाँ मौकाहरूको फाइदा उठाउन सकेनौं। यसमा हामीले निश्चित रूपले सुधार गर्नु पर्नेछ। उल्लेखनीय छ, भारतले दिएको ३७८ रनको लक्ष्यलाई केवल ३ विकेट गुमाएर हासिल गरी ईंग्ल्याण्डले पाँचौं टेस्ट म्याचमा ७ विकेटले ऐतिहासिक जीत हासिल गऱ्यो। आयोजक टीमबाट जो रुटले अविजित १४२ र जनी बेयरस्टोले अविजित ११४ रनको साथ भारतको सपना चकनाचूर पारे। यस जीतको साथै ईंग्ल्याण्डले पाँचवटा टेस्ट म्याचको सीरीज २-२-को बराबरीमा समाप्त गऱ्यो।