विम्बल्डनः जोकोविच २६औं जीतको साथ सेमिफाइनलमा

photocollage_20227611449882.jpg

६ जुलाईः तीनपल्टका गत च्याम्पियन नोवाक जोकोविचले विम्बल्डन टेनिस च्याम्पियनशीपको क्वार्टर फाइनलमा यानिक सिनरलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरे। शीर्ष वरीयता प्राप्त सर्बियाई खेलाड़ीले इटलीका सिनरलाई ५-७, २-६, ६-३, ६-२, ६-२-ले पराजित गरी आफ्नो सातौं विम्बल्डन खिताब जित्ने दिशामा कदम बढ़ाए। यस टुर्नामेण्टमा यो उनको लगातार २६औं जीत हो। बीसवटा ग्राण्ड स्ल्याम खिताब जितिसकेका जोकोविचले सिनर विरुद्ध जीत हासिल गर्नको निम्ति चाहिँ निक्कै मेहनत गर्नु पऱ्यो। यस स्थलमा पाँच सेटको आफ्नो ११ वटा म्याचमा जोकोविचले १० वटा जितेका छन्। पाँच सेटको म्याचमा जोकोविच अन्तिमपल्ट यहाँ २००६-मा पराजित भएका थिए। समग्रमा विम्बल्डनमा यो उनको ८४औं जीत हो अनि यसको साथै उनले जिमी कोनर्सको बराबरी गरे। यस मामिलामा अहिले रोजर फेडरर मात्र उनीभन्दा अघि रहेका छन्।
यसबीच महिला एकलमा ३४ वर्षीय खेलाड़ी तात्याना मारियाले क्वार्टर फाइनलमा आफ्नै देशकी ज्यूल नीमियरलाई ४-६, ६-२, ७-५-ले पराजित गरी सेमिफाइनलमा स्थान बनाइन्। विश्व ऱ्याङकिंगमा १०३औं स्थानमा रहने मारिया पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको सेमिफाइनलमा पुगेकी छन्। सेमिफाइनलमा उनले तेस्रो वरीयता प्राप्त ओन्स जेब्यूर र गैरवरीयता प्राप्त मेरी बोजकोवाबीच खेलिने म्याचको विजेतासँग खेल्नु पर्नेछ। मारिया यस उमेरमा विम्बल्डनको सेमिफाइनलमा पुग्ने ओपन युगकी केवल छैटौं महिला खेलाड़ी हुन्। आफ्नो दोस्रो ग्राण्ड स्ल्याम खेलिरहेकी २२ वर्षीय नीमियर हारपछि निक्कै निराश देखिन्। यसअघि उनी फ्रेञ्च ओपनको पहिलो राउण्डमै बाहिर भएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement