गान्तोक: यदि नाम्ची महाविद्यालयका छात्र नेता पदम गुरुङको हत्या नै भएको हो भने हत्यारालाई पक्राउ गरेर कड़ाभन्दा कड़ा सजाय दिलाउन सरकार कटिवद्ध रहेको मुख्यमन्त्री प्रेम सिंह तामाङको भनाइ रहेको छ। आज पूर्व सिक्किमको रम्फूमा सत्तारुढ़ एसकेएम पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बयान दिएका हुन्। यस घट्नालाई लिएर अहिले न्यायिक जाँच भइरहेको र आवश्यक्ता परेको खण्डमा अझ ठूलो जाँच गराउन पनि सरकार तयार रहेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए।
एकातिर सरकार घट्नाको गहन जाँच गर्नमा जुटेको अर्कोतिर विपक्षी पार्टीहरू भने लाशमाथि राजनीतिक रोटी सेक्ने प्रयासमा रहेको मुख्यमन्त्री प्रेम सिंह तामाङको आरोप रहेको छ। यस सम्बन्धमा उनले विशेष गरेर एसडीएफ पार्टी र सिटिजन एक्शन पार्टीको कड़ा आलोचना गरेका छन्। २७ र २८ जूनको राती नाम्चीमा साँच्चै पदम गुरुङको हत्या भएको हो भने सरकारले यसको धरातलमा पुगेर हत्यारालाई सजाय दिलाउने तर कसैको दबाउमा आएर बिना पुख्ता सबुत कसैलाई पक्राउ नगर्ने उनको भनाइ रहेको छ। आज विपक्षीको दबाउमा आएर सरकारले कसैलाई पक्राउ गरेपनि पछि न्यायालयमा प्रमाणको अभावमा दोषमुक्त भयो भने के पदम गुरुङले न्याय पाउँछ भन्दै मुख्यमन्त्री तामाङले प्रश्न तेर्साएका छन्। सरकार आरोपीलाई पक्राउ गर्न मात्र होइन तर पुख्ता सबुतको साथमा पक्राउ गर्नछ चाहन्छ, उनले भने।
पदम गुरुङको रहस्यमय मृत्युको घट्नालाई लिएर सरकारलाई घेर्ने विपक्षीहरू, विशेष गरेर एसडीएफ पार्टीलाई जवाफ दिँदै नन्दलाल शर्मा, तारामान छेत्री महेश सुब्बा, सीबी चौहान, एनके गुरुङ आदिको हत्या कसको सरकारकालमा भएको हो भन्दै मुख्यमन्त्री तामाङले प्रश्न गरेका छन्। आज पदम गुरुङको मृत्यु सम्बन्धमा गुरुङ समुदायले होइन तर विपक्षी पार्टीहरूले राज्यमा अशान्ति फैलाउने कोशिश गरिरहेको उनको भनाइ रहेको छ।










