गान्तोक: आजादी का अमृत महोत्सव अन्तर्गत ‘मेरी माटी मेरा देश’ कार्यक्रमको तयारी सम्बन्धमा एक समीक्षा बैठक टाशिलिङ सचिवालयमा सम्पन्न भयो। मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा भएको बैठकमा प्रधान सचिव शिक्षा विभाग आर तेलाङ, सीएस राव, एके सिंह अनि उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो। मुख्य सचिव पाठकले मेरी माटी मेरा देशले राष्ट्रको स्वतन्त्रता र प्रगति यात्राको सम्झना गर्दै भारतको माटो र वीरताको एकताबद्ध उत्सवको परिकल्पना गरेको बताए। उनले भूमिसँग जोडिएर हाम्रा नायकहरूलाई सम्मान गर्दै यस कार्यक्रमले राष्ट्रिय गौरवको भावना जगाउने र भावी पुस्तालाई भारतको महत्वपूर्ण सम्पदाको संरक्षण गर्न प्रेरित गर्ने बताए। मुख्य सचिवले आजादी का अमृत महोत्सव अन्तर्गत ‘मेरी माटी मेरा देश’ अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै पदाधिकारीलाई निर्देशन दिए। राज्यपालले अदमपूल जुनियर हाई स्कूलमा मेरी माटी मेरा देशसँग सम्बन्धित कार्यक्रमहरूमा भाग लिनेछन्। त्यसैगरी १३ अगस्ट २०२३ मा मुख्यमन्त्री प्रेमसिंह तामाहले च्याखुङमा हुने कार्यक्रममा सहभागी हुने उल्लेख गरे। १५ अगस्तको दिन मनन केन्द्रमा राज्यस्तरीय कार्यक्रम हुने जसमा राज्यपाल र मुख्यमन्त्रीको उपस्थिति रहनेछ।
बैठकमा उपस्थित पदाधिकारीहरुसमक्ष अन्य महत्वपूर्ण बिषयहरुबारे पनि छलफल गरिएको थियो।










