गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दाबी गरेअनुसार सम्पूर्ण सिक्किमे समाज नै स्वर्गीय पदम गुरूङलाई शीघ्र न्याय प्राप्त होस् भन्ने धारणा राख्दछ। तर विपक्षी दलहरूको तुच्छ राजनीतिक स्वार्थको कारण न्याय खोजीको नाममा राजनीतिकरण गर्ने कुत्सीत प्रयास गर्दै प्रशासनलाई समेत केरकार र अनुसन्धानमा बाधा पुऱ्याउने काम गरिरहेका छन् जो अत्यन्तै दुर्भाग्यपूर्ण विषय हो। पार्टीले उल्लेख गरेअऩुसार केही वर्ष यता विपक्षी दलहरूले राज्यको शान्ति र सद्भावनालाई खलल पार्ने उद्देश्यले जनतामा शान्ति, सुरक्षा नरहेको दृष्टिकोण जगाउँन आम सर्वसाधारणलाई दिग्भ्रमित पार्ने काम गरिरहेका छन्। विपक्षीहरू अहिले सिक्किमलाई हिंसा र अशान्तिमा परिणत गरी यसको दोष सिक्किम सरकारलाई थोपर्न चाहन्छन् भन्ने प्रमाण दक्षिण सिक्किमको नाम्चीमा भएको घटनाले स्पष्ट पारेको एसकेएमको भनाइ छ। कुनै पनि घटनालाई पर्दा पछाड़िबाट राजनीतिमा मुछ्न माहिर र अनेक षड़्यन्त्र गरी राज्यमा किचेलो मच्चाउन खोज्नेहरूबाट अब जनता सचेत हुनुपर्ने एसकेएमको भनाइ छ।
यसरी शान्तिमय सिक्किममा तनाव सृजना गरी वर्तमान सरकारलाई दोष दिएर आफ्नो सरकारमा मात्र राज्यमा शान्ति, सुरक्षा कायम रहेको भनी ठोकुवा गर्ने पवन चामलिङ र एसडीएफ पार्टीले शान्ति जुलुसका लागि अघि आएका नागरिकबीच ताण्डव मच्चाएर लज्जास्पद कार्य गरेको विषय निन्दनीय रहेको भन्दै एसकेएमले सिक्किमका विपक्षी दल सबै एसडीएफ पार्टीकै नीति अप्नाएर मृतकलाई लिएर राजनीति गर्न खप्पीस रहेको आरोप लगाएको छ। नाम्चीमा डाकिएको शान्ति जुलुसमा भाइचुङ भोटियाले आफ्नो पार्टीको लागि भोट अपील गरेको, पासाङ शेर्पा र उनको टोलीले भीड़लाई उक्साएको, छिरिङ वाङदी र उनका साथीहरूले यो ऱ्याली एसडीएफ पार्टीले आयोजन गरेको हो भन्ने रूप दिइरहेका थिए भने क्यापका युवाहरू पनि राजनीतिक लाभको खोजीमा त्यहाँको स्थितिलाई भड्काउन मग्न देखिएको उल्लेख एसकेएमले जारी एक प्रेस बयानमा गरेको छ। यतिसम्म कि उनीहरूले स्थिति नियन्त्रण गर्न र सुरक्षा प्रदान गर्न खटिएका पुलिसबल माथि पनि आक्रमण गरेको आरोप लगाउँदै यसरी विपक्षी दलहरूले स्वर्गीय पदम गुरूङको परिवार र गुरूङ समुदायको नाममा ऱ्यालीलाई पूर्ण रूपमा हस्तक्षेप गरी राजनीतिमा परिणत गरेको जनाएको छ।
स्वर्गीय पदम गुरूङले न्याय पाउनुपर्छ भन्ने सबैले चाहना राखेको छ साथै सिक्किम सरकार पनि यही चाहन्छ र न्यायिक जाँचका लागि मुख्यमन्त्रीको निर्देशनमा टोलीको समेत गठन गरिएको स्मरण गराएको छ। गत १२ जुलाई २०२३ मा सिक्किम उच्च न्यायालयका पूर्व न्यायाधीश एके जैनको नेतृत्वमा न्यायिक जाँच आयोग गठन गरिएको हो भन्दै आयोगले विषयको अनुसन्धान गरी जानकारी प्राप्त गर्ने पद्धतिको काम गर्दछ भने यो जनताका लागि जानकारीको श्रोत पनि हो भनेको छ। संसदले जाँच आयोग ऐन १९५२ लागू गरेको छ जसद्वारा केन्द्र तथा राज्य सरकारलाई सार्वजनिक महत्वका निश्चित मामिलाहरूमा जाँच आयोग नियुक्त गर्नका लागि अधिकार प्राप्त छ। यो संविधानको अनुसूची ७ को सूची १ र ३ अन्तर्गत लागू गरिएको केन्द्रीय कानून हो भनी थप स्मरण गराएको छ। स्वर्गीय पदम गुरूङको निधनलाई लिएर गठित जाँच आयोगद्वारा आगामी १२ अगस्तका दिन विवरण पेश गरिने र सो दिनलाई नै केन्द्र गरी म्याद दिएर विपक्षीहरूले पुनः ताण्डव मच्चाउने प्रयास गर्दै न्याय प्रणाली र पुलिस प्रशासनमाथि विश्वास नरहेको जस्तो सन्देश जनतामा फैलाउने चेष्टा गरिरहेका आरोप एसकेएमको छ। विपक्षीहरूले कानूनलाई अधीनमा लिएर भारतको संविधनद्वारा मान्यता प्राप्त न्यायिक जाँच आयोगको समेत धज्जिया उड़ाउने काम गरेको जनाउँदै भारत देशकै सबैभन्दा राम्रो पुलिस प्रशासन मानिने सिक्किम पुलिसले सो घटनालाई लिएर जाँच-पड़्ताल गर्ने कार्य गरिरहेको छ र मुख्यमन्त्री स्वयम्-ले पनि यस विषयलाई गम्भीरतापूर्वक लिँदै पुलिस प्रशासनसँग बैठक पनि आयोजन गरी सम्बन्धित विषयबारे जानकारी लिने कार्य गरिरहेको जानकारी गराएको छ।
यति हुँदा – हुँदै पनि विपक्षी दलहरूले पीड़ित परिवारलाई सहारा बनाएर राजनीतिक सिँढ़ी उक्लिन खोज्नु र पुलिस प्रशासन र सरकार विरूद् नाराबाजी गर्नु र जनतालाई दुरूपयोग गर्नु अत्यन्तै लज्जास्पद कुरा रहेको ठहर गरेको छ। यसमा विपक्षीहरू कतिपयले स्वर्गीय पदम गुरूङले न्याय पाउनुपर्छ भन्नु बढ़ी मुख्यमन्त्रीको गरिमामय पदलाई पनि मुर्दावादको नारा लगाएकाले घटना विपक्षीहरूको सुनियोजित षड़्यन्त्रको अर्को प्रमाण रूपमा उजागर भएको दाबी एसकेएमको छ। यदि नाम्चीमा पुलिस बलहरू त्यस स्थानमा तैनाथ न रहनु हो भने विपक्षीहरूले यहाँ अझ ठूलो घटना सृजना गर्ने थिए र कुनै घटना भए यसको पूर्ण जिम्मेवारी एसडीएफ लगायत अन्य विपक्षी पार्टीहरू रहने थिए भनी बताउँदै राज्यका विपक्षी भनिएकाहरूले यसरी तनावपूर्ण माहोल सृजना गर्नु न्याय सङ्गत विषय पटक्क होइन र यसको घोर भर्त्सना गर्दै सिक्किमे जनसाधारण पनि यस्ता नकारात्मक विचारधारीहरूबाट सचेत रहनुपर्ने आह्लान गरेको छ।










