सिलगढी: डाबग्राम २ नम्बर ग्राम पञ्चायतको बोर्ड गठन गरेपछि भाजपा कार्यकर्ता तथा समर्थकमा खुसीको लहर छाएको छ। यस वर्ष पञ्चायत चुनाउमा डाबग्राम २ नम्बर ग्राम पञ्चायतको ३० वटा आसनमध्ये १९ वटा आसनमा भाजपाले जीत हासिल गरेको छ भने अन्य ११ वटा आसनमा तृणमूले जीत हासिल गरेको छ। डाबग्राम २ नम्बर ग्राम पञ्चायतको कार्यालयअघि आज बिहानैदेखि १४४ धारा लागू गरिएको छ। कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर इलाकामा पुलिसको विशेष नजरदारी रहेको छ। भाजपाले एकल बहुमत हासिल गरेर डाबग्राम २ नम्बर ग्राम पञ्चायतको बोर्ड गठन गरेको छ। ग्राम पञ्चायत प्रधानको रूपमा मिताली मालाकार र उपप्रधानको रूपमा सुपेन रायलाई चयन गरिएको छ। यी नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेपछि भाजपा कार्यकर्ता तथा समर्थकहरूमा खुसीको लहर छाएको छ।










