कालचिनीः त्रिस्तरीय पञ्चायत चुनाउको परिणाम घोषणा पश्चात बिहीबारदेखि पञ्चायत बोर्ड गठन प्रक्रिया शुरु भएको छ।
बिहीबार प्रथम बोर्ड गठनको क्रममा कालचिनी खण्डको मलङ्गी , साताली र मेन्दाबारी ग्राम पञ्चायतमा तृणमूलको बोर्ड गठन भएको छ। बोर्ड गठन शान्तिपूर्वक सम्पन्न भएको तृणमूल सुत्रले बताएता पनि बोर्ड गठन प्रक्रियामा विहान साताली ग्राम पञ्चायतमा प्रधान पदको निम्ति तृणमूलका निर्वाचित पञ्चायत सदस्यहरूमा आक्रोश देखा परेको थियो। यद्यपि पार्टीको निर्देश मुताबिक बोर्ड गठन भएको तृणमूल नेताहरूले दाबी गरेका छन्।
मलङ्गी ग्राम पञ्चायतमा प्रधान पदमा तृणमूलका पञ्चायत सदस्य रञ्जना सुत्रधरलाई निर्वाचित गरिएको बताईएको छ भने उपप्रधान पदमा सेलिना बारालाई निर्वाचित गरिएको र यसरी नै साताली ग्राम पञ्चायतमा प्रधान पदमा कमला देवी प्रसाद साह, उपप्रधानमा इस्धोर खड़िया र मेन्दाबारी ग्राम पञ्चायतमा प्रधान पदमा चन्द्रा नार्जीनारी र उपप्रधानमा सिल्ली भगतलाई निर्वाचित गरिएको कालचिनी ब्लक प्रशासनिक सुत्र अनि तृणमूल सुत्रले जनाएका छन्। अर्कोतिर साताली ग्राम पञ्चायतमा जम्मा १९ जना पञ्चायत सदस्यमध्ये १४ जनाले अर्को एकजनाको नाम प्रधानमा दिएता पनि कालचिनी बीडीओले जबरजस्ती कमला देवी प्रसाद साहलाई प्रधान पदमा निर्वाचित गरेको भाजपा ७ नम्बर मण्डल सभापति रुद्र मण्डलले आरोप लगाएका छन्। तिनले चुनाउदेखि परिणाम र बोर्ड गठनसम्म नै प्रशासनले गणतन्त्रको हत्या गरेको र बहुमतले चुनेका पञ्चायत सदस्यलाई प्रधान बन्न नदिनु दुर्भाग्यपूर्ण भएको जनाएका छन्।










