कालचिनी: केन्द्रबाट हाँसीमारा वायुसेनाको हवाईअड्डालाई नै यात्रीहरूको सुविधालाई ध्यानमा राखेर सिभिल एन्क्लेभ बनाउन हरियो संकेत दिइसकेको र यसको पत्र नगरिक उड्डयन मन्त्रालयबाट अलिपुरद्वार सांसद जोन समक्ष पनि आइसकेकोले अब हाँसीमारा वायुसेनाको हवाईअड्डालाई संयुक्त रुपमा रुपमा यात्री विमान अड्डाको गर्ने कुराको हल्ला चलिरहेकोबीच सिभिल एन्क्लेभको निम्ति ३१.७४ एकर जमीन चाहिएको र यसको स्वीकृति राज्य सरकारले दिए चाँडै विमान अड्डाको काम शुरु हुने पनि कुरा चलेको र सम्भवतः मधु चियाबारी र साताली क्षेत्रको जमीन अधिग्रहण गर्ने घाँईघुई चलेको छ। आज यसै प्रसङ्गमा मधु चियाबारीमा अराजनैतिक रुपमा एउटा सभा सबै तप्कालाई समेटेर सम्पन्न भएको थियो।
उक्त बैठकमा मधु चियाबारी जमीन रक्षा कमिटीको पनि गठन गरिएको बताईएको छ। कमिटीको पक्षबाट अमल मुन्डा, इसदोर खड़िया, प्रकास लोहार एवम् अन्यान्य सदस्यहरूले भर्खरै मात्र मधु चियाबारी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले खोलिएको र अब यदि विमान अड्डाको निम्ति मधु चियाबारीको जमीन अधिग्रहण गर्न खोजिए यसको विरोधमा मधु चियाबारी जमीन रक्षा कमिटी ओर्लिने जनाएका छन्। यद्यपि आजसम्म राज्य सरकारले हाँसीमारा विमान अड्डाको निम्ति चाहिएको जमीनको कुनै प्रकारको प्रतिक्रिया दिएका छैनन् तथापि डुवर्सको लागि हाँसीमारा विमान अड्डाको निम्ति सम्पूर्ण अलिपुरद्वार जिल्लाको नागरिक समाज र व्यावसायिक प्रतिष्ठानहरूले यसको स्वागत जनाएको छ। यता विमान अड्डाको निम्ति जमीन अधिग्रहण विषय लिएर मधु चियाबारीका सबै तप्काहरू जमीन अधिग्रहण गर्न नदिने मन बनाइसकेको छ।