खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान र उप प्रधानको नामको घोषणा गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सभा सम्पन्न भएको छ। उक्त सभा घैयाबारीस्थित पार्टीको समष्टी कार्यालयमा ट्रेड युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष जनक छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। यसै सभामा पार्टीगत रूपमा सर्व सहमतिद्वारा महानदी र घैयाबारी ग्राम पञ्चायत तीनको लागि पञ्चायत प्रधान र उप प्रधानको नाम घोषणा गरिएको छ। सभाको निर्णय अनुसार महानदी ग्राम पञ्चायतको लागि पञ्चायत प्रधान पासाङ शेर्पा अनि उप प्रधान सोनिका तामाङ चयन भएका छन्। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत तीनको लागि पञ्चायत प्रधानको रूपमा सुष्मा वाईबा र उप प्रधानको लागि केवल राई चयन भएका छन्। सभामा क्षेत्रीय सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ अादिले वक्तव्य राखेका थिए। यस सभालाई युवा शक्ति तीनधारे महानदी समष्टीको सचिव सञ्जीव मंगरले सञ्चालन गरेका थिए। सभामा महानदी र घैयाबारी ग्राम पञ्चायत तीनको सबै नव निर्वाचित पञ्चायत सदस्यहरू र नव निर्वाचित पञ्चायत समितिको सदस्यहरू पनि उपस्थित रहेका थिए। सभापछि पार्टीले चुनिएका दुवै ग्राम पञ्चायतका पञ्चायत प्रधान र उप प्रधानहरूलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आधिकारिक रूपमा पञ्चायत प्रधान र उप प्रधानको नामको घोषणा गरेका छन्। अब दुवै ग्राम पञ्चायत महानदी र घैयाबारी ग्राम पञ्चायत तीनको बोर्ड गठन भोलि ११ अगस्त शुक्रबारको दिन गरिने भएको छ।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै ट्रेड युनियन तीनधारे महानदी समष्टीको जोनल सभापति गणु छेत्रीले महानदी र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान र उप प्रधानको नामहरू बताएका छन्। त्यसरी नै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले आजको सभा महानदी र घैयाबारी ग्राम पञ्चायतलाई लिएर राखिएको थियो जसमा दुवै ग्राम पञ्चायतको प्रधान र उप प्रधानको नामहरूका घोषणा गरिएको बताए। उनले अब दुवै ग्राम पञ्चायतमा बोर्ड गठन र शपथ ग्रहण कार्यक्रम शुक्रबार हुने बताएका छन्।











