गान्तोक: सिक्किम सरकारको खाद्य एवं नागरिक आपूर्ति विभाग मन्त्री अरुण उप्रेती राष्ट्रिय राजधानी दिल्लीमा, केन्द्रिय उपभोक्ता मामिला, खाद्य एवं जन वितरण मन्त्री पीयूष गोयलको अध्यक्षता आयोजित खाद्य मन्त्रीहरूको सम्मेलनमा सहभागी बने। आज आयोजित यस सम्मेलनको विषय खाद्य सुरक्षा एवं भारतमा पोषण रहेको थियो।
मन्त्री उप्रेतीले आफ्नो सम्बोधनमा भौगोलिक चुनौतीहरूका कारण राज्यले झेल्नु परिरहेको समस्याहरूमाथि प्रकाश पारे। उनले राज्य-विशिष्ट समस्याहरू समाधानका लागि भारत सरकार समक्ष अनुरोध पनि गरे। केन्द्रिय मन्त्रीले मन्त्रालयबाट पूर्ण सहयोगको आश्वासन दिए।
भारत सरकारको खाद्य एवं जन वितरण विभागले जारी गरको स्टेट ऱ्याङकिङ्ग इन्डेक्स अनुसार राज्य अनि केन्द्रशासित प्रदेशहरूको विशेष श्रेणीमा सिक्किमले तेस्रो स्थान प्राप्त गरेको छ। कार्यक्रममा राज्य खाद्य एवं नागरिक आपूर्ति विभागकी सचिव दीपारानी थाना र विशेष सचिव डिकी याङजोम पनि सहभागी बनेको बताइएको छ।
राष्ट्रिय खाद्य सुरक्षा कानून अन्तर्गत पहिलोपल्ट स्टेट ऱ्याङकिङ्ग जारी गरिएको बताइएको छ। यसमा प्रथम स्थान त्रिपुराले प्राप्त गरेको छ भने दोस्रो स्थान हिमाचल प्रदेशले प्राप्त गरेको छ। यसरी नै चौथो अनि पाँचौ स्थान क्रमश: नागाल्याण्ड र उत्तराखण्डले प्राप्त गरेको छ।









