झारग्राम: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार (९ अगस्त) ‘भारत छोडो दिवस’ को अवसरमा सार्वजनिक सभालाई सम्बोधन गरिन्। झारग्रामको तीन दिने प्रशासनिक भ्रमणमा आएका मुख्यमन्त्रीले मणिपुरमा भएको हिंसालाई लिएर केन्द्र सरकारमाथि हमला गरेकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘स्वतन्त्र हुनुअघि हामीले अंग्रेजहरूलाई भारत छोड्न भनेको थियौं। र अब हाम्रो यो आन्दोलन केन्द्र सरकार विरुद्ध हो। हामीले उनीहरूलाई दिल्ली छोड्न भनेका छौंl’ केन्द्रलाई निशाना बनाउँदै उनले भाजपालाई दिल्लीमा बस्ने अधिकार नभएको बताइन्। उनले भनिन्, ‘अब भाजपा भारत छोड्ने समय आएको छl’ जातीय हिंसाको सामना गरिरहेको मणिपुरको सन्दर्भमा उनले त्यहाँ आदिवासीको समस्या सुन्ने कोही नभएको बताइन्। उनले संसारभरका मानिसहरूलाई प्रार्थना गर्न आग्रह गरिन्।
मणिपुरको मुद्दामा मुख्यमन्त्री ममता ब्यानर्जी निकै आक्रामक देखिइन्। उनले मणिपुरमा आदिवासी संकटको लागि केन्द्रसँग कुनै समाधान नभएको बताइन्। दलितको मुद्दामा मुख्यमन्त्रीले दलितमाथि उत्पीडन भइरहेको तर केन्द्र सरकारले वास्ता नगरेको बताइन्। ‘भारत छोडो दिवसको अवसरमा, हामी भाजपाबाट देशलाई मुक्त गर्ने शपथ लिन्छौं’, उनले भनिन्। जनसभामा मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्र सरकारले राज्यको हिस्सा नदिएको आरोप लगाइन्, साथै उनले पश्चिम बंगाललाई केन्द्र सरकारले बेवास्ता गरेको विरुद्ध लड्ने बताइन्। मुख्यमन्त्री ममता ब्यानर्जी तीन दिने भ्रमणमा झारग्राम गएकी छिन्। जहाँ भारत छोडो आन्दोलनको वार्षिकोत्सवमा महात्मा गान्धीको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरिएको थियो।









