सिङताम। गोलीटार खेल मैदानमा आज एवाईसी आदर्श गाउँ अनि सिक्किम ब्वाइज एफसी बीच क्वार्टर फाइनल म्याच सम्पन्न भयो। यस अवसरमा अखिल सिक्किम अनुसूचित जाति प्रकोष्ठका अध्यक्ष जगदीश सिन्चुरी मुख्य अतिथिको रुपमा उपस्थित थिए अनि पाक्योङ जिल्लाका सिक्किम चालक कल्याण बोर्डका उपाध्यक्ष सूरज सुब्बा अनि तिमी नाम्फिङ क्षेत्रकी कल्चर कोर्डिनेटर सृजना सुब्बा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। नृत्य र गीतको प्रस्तुतिले अझ टेवा पुराएको यस म्याचमा दुवै दलको खेलाड़ीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेर दर्शकहरुका मन जित्न सके। यस म्याचभन्दा अघि अन्तर विद्यालय फुटबल टुर्नामेन्टको क्वार्टर फाइनल इस्ट पोइन्ट स्कूल र माउन्ट जिओन बीच भीड़न्त भएको थियो, जसमा ११ गोल लगाएर माउन्ट जिओन स्कूल विजयी बनेको थियो। यस म्याचमा माउन्ट जिओनका खेलाड़ी जर्सी ९ विजय दर्नाललाई मेन अफ द म्याच घोषित गरियो। आज सम्पन्न दोस्रो क्वार्टर फाइनलमा १-० -को अन्तरले एवाईसी आदर्श गाउँले सिक्किम ब्वाइज एफसीलाई परास्त गरि सेमी फाइनलमा प्रवेश गर्न सफल बनेको छ। यस म्याचका मेन अफ दी म्याच विजयी दल एवाईसी आदर्श गाउँका खेलाड़ी जर्सी १३ सिसास थापालाई चयनित गरियो। आजका दुवै क्वार्टर फाइनलका मेन अफ दी म्याच घोषित खेलाड़ीहरुलाई मुख्य अतिथि जगदीश सिन्चुरीको बाहुलीबाट पुरस्कार वितपण गरियो।