९ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा म्याच थियो। समथार जनमैदानमा भएको पहिलो म्याचमा डन बस्कोले समथार एफसी-लाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दिपेश राई (मागुर)-ले ह्याट्रिक गरे। यसबाहेक ओङ छिरिंगले १ गोल गरे। एक गोल आत्मघाती रह्यो। यसरी दोस्रो म्याचमा बीवाईसी (बड़ा सुरुक युथ क्लब)-ले समथार हाई स्कूल ए टीमलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो।
यसअघि मंगलवार पनि दुईवटा म्याच खेलिएको थियो। पहिलो म्याचमा एमओए-ले समथार हाई स्कूल बी टीमलाई १-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा पन्बुले माकुम युनाइटेडलाई ३-०-ले पराजित गऱ्यो । यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।