दार्जीलिङ सरकारी महाविद्यालयमा स्थापना दिवस पालन

00-1-Darjeeling-Govt-College

दार्जीलिङ: दार्जीलिङ सरकारी महाविद्यालयले आफ्नो ७५औं स्थापना दिवस पालन गर्यो। सन् १९४८ मा स्थापना भएको यो महाविद्यालय आफ्नो विशेष शैक्षिक गतिविधिको निम्ति प्रख्यात छ। दुई सत्रमा बाँडिएको स्थापना दिवस कार्यक्रममा बिहानको सत्रमा महाविद्यालयका प्राचार्य डा. प्रज्वलचन्द्र लामाले राष्ट्रिय अनि महाविद्यालयको झण्डा फहराएर वर्षव्यापी ७५औं स्थापना दिवस कार्यक्रमको उद्घोषणा गरे। यस सत्रमा महाविद्यालयका शिक्षण-अशिक्षण कर्मचारी, एनसीसी अनि एनएसएसका विद्यार्थीगण स्नातक अनि स्नातकोत्तर स्तरका विद्यार्थीगणको व्यापक उपस्थिति रहेको थियो।

दोस्रो सत्रमा सेमिनार अनि सांस्कृतिक-साङ्गीतिक कार्यक्रम राखिएको थियो। महाविद्यालयको इतिहासलाई समेटदै जीवन लाबर अनि डा. विली हेनरीले आफ्नो वार्ता प्रस्तुत गरे। उनीहरूले दार्जीलिङ सरकारी महाविद्यालयको विगतको गौरव अनि वर्तमानको स्थितिबारे प्रकाश पारे। हेनरीले महाविद्यालयले गर्नुपर्ने शैक्षिक अनि प्रशासनिक कार्यहरूबारे पनि श्रोताहरूलाई अवगत गराए। कार्यक्रममा युवराज गुरूङ अनि साइबर राईद्वारा तयार गरिएको छोटो वित्तचित्रको पनि प्रदर्शन गरियो। यस वृत्तचित्रमा महाविद्यालयको प्रारम्भिकचरणदेखि वर्तमानसम्मको इतिहासलाई समेटदै छोटो रूपमा महाविद्यालयको इतिहासलाई प्रकाश पारिएको थियो। यसकार्यक्रममा विभिन्न कलाकारहरूले वाद्य वादन, गीत अनि नृत्य पनि प्रस्तुत गरे। स्वागत भाषण महाविद्यालयका प्राचार्य डा. प्रज्वलचन्द्र लामाले राखेको यस कार्यक्रममा उक्त दुइ वार्ताकारहरूलाई संवर्द्धना पनि गरियो। जीवन लाबरको संक्षिप्त परिचय प्रा. कबीर बस्नेतले राखे भने डा. विलि हेनरीको परिचय प्रा. रिपन्दी लेप्चाले राखेकी थिइन्। यस कार्यक्रममा धन्यवाद ज्ञापन प्रा. पूजा गुरुङले राखेकी थिइन्। यस दिनको कार्यक्रम संयोजक डा. सोनम लामा अनि सहसंयोजकको रूपमा निर्मल सुब्बा, डा. जाधव रोय अनि श्रीमती अनुपमा प्रधान रहेका थिए। यस दिनको मुख्य आकर्षण भने कलेज एनथम् रहेको थियो। महाविद्यालयको ७५ वर्षको इतिहासमा पहिलेचोटी सामुहिक रूपमा कलेज एनथम् गाइएको थियो। यसका शब्दकार अनि सङ्गीतकार डा. विलि हेनरी हुन्। डा. हेनरी महाविद्यालयका पूर्व भारप्राप्त प्राचार्य हुन् भने अहिले उनी जुलोजी विभागका प्रमुख हुन्। यस कार्यक्रममा महाविद्यालयकै गौरव गानको रूपमा रहेको एउटा बङ्ला गीत पनि प्रस्तुत गरियो। यसका शब्दकार अनि सङ्गीतकार डा. सुव्रत कर अनि प्रवीर कुमार सेन हुन्।

महाविद्यालयको ७५औं स्थापना दिवस वर्षव्यापी रूपमा मनाइने जानकारी प्राचार्य डा. प्रज्वलचन्द्र लामाले जनाए। यस वर्षव्यापी कार्यक्रमको संयोजक महाविद्यालयकी वरिष्ठ प्राध्यापिका डा. सुजातारानी राई रहेकी छिन्। उनी अनुसार वर्ष भरि नै विभिन्न प्रकारका गतिविधिहरू गरिने छ जसमा विविध खेलकुद, सांस्कृतिक-साङ्गीतिक कार्यक्रम, कवि गोष्ठी अनि अन्य प्रकारका गतिविधिहरू रहने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement