जलपाइगढी: भारतीय जनता पार्टीले जलपाइगढी सदर ब्लकको बोलमारी नन्दनपुर ग्राम पञ्चायतमा बोर्ड गठन गर्यो। यस ग्राम पञ्चायतमा १७ मध्ये ११ सिट जितेर बीजेपीले पञ्चायत बोर्ड बनाएको छ । तृणमूल कांग्रेसका उम्मेदवारले ५ सिट र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन् । भारतीय जनता पार्टीले आज बहुमतका साथ पञ्चायत बोर्ड गठन गरेको छ । सुफल सरकारलाई प्रधान र डोली वैद्यलाई उपप्रधानको जिम्मेवारी दिइएको छ। यस दिन नवनिर्वाचित पञ्चायत प्रधान र उपप्रधानसहित ११ पञ्चायत सदस्यले भगवा अबीर लगाएर ब्याण्ड पार्टी बजाएर हर्षोल्लासका साथ विभिन्न सडक परिक्रमा गरेका थिए । नवनिर्वाचित पञ्चायत प्रमुख सुफल सरकारले जनताको विकासका लागि काम गर्ने र जनताको साथमा रहने बताए।









