गान्तोकः एसकेएम पार्टीले भोलि पालन गर्ने छैटौं जन उनमुक्ति दिवसको तयारी युद्ध्स्तरमा भइरहेको छ। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह मुख्य अतिथिकोरूपमा उपस्थित हुने मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले जानकारी गराए।
आज रम्फूस्थित खेल मैदानमा पत्रकाहरूसँग कुराकानी गर्ने क्रममा खालिङले केन्द्रिय कार्यकारी समितिको पहलमा आयोजना हुन लागेको कार्यक्रममा राज्यका ६ वटा जिल्लाबाट पार्टीका कार्यकर्ता साथै समर्थकहरूको उपस्थिति रहने बताए। उनले १० अगस्त, २०१८ को दिन वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ एक वर्षको कारागारबाट मुक्त बनेको बताए।
मुख्यमन्त्रीले जनता र पार्टीको निम्ति गरेको योगदानको कदर गर्दै भोलि उनलाई यस स्थलमा भव्यरूपमा स्वागत जनाउने अवगत गराए। भोलि गान्तोकबाट मुख्यमन्त्रीलाई बाइकर्सको टोलीले स्वागत जनाउँदै रम्फूसम्म पुऱ्याउने र कार्यक्रम स्थलमा हजारौं मानिसहरूले मुख्यमन्त्रीलाई स्वागत जनाउने कार्यक्रम रहेको उनले थप बताए।
यसै क्रममा क्षेत्र विधायक एवम् मन्त्री एलबी दासले भोलिको दिन सम्पूर्ण सिक्किम जनताको निम्ति महत्वपूर्ण रहेको बताए। १० अगस्त, २०१८ को दिन मुख्यमन्त्री तामाङ कारागारबाट मुक्त नभएर राज्यका सम्पूर्ण शोषित पीडित जनताले मुक्ति पाएको खुशीमा भोलि भव्यरूपमा कार्यक्रम पालन गरिने बताए। उनले सो कार्यक्रममा सबैलाई उपस्थित भएर कार्यक्रमलाई सफल तुल्याउनु पर्ने आग्रह गरे।










