गान्तोकः विद्यार्थी नेता स्वार्गीय पदम गुरूङको हत्यारालाई सरकारले बचाउने कोशिश नगरेको र जोगाउने आवश्यकता पनि नरहेको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले बताएका छन्। सरकारले उक्त घटनालाई लिएर उच्चस्तरीय जाँच आयोग गठन गरेको र इमान्दारीपूर्वक जाँच कार्य भइरहेको जानकारी बताए। उनले दोषीलाई कुनै पनि अवस्थामा नछोडिने प्रतिबद्धता व्यक्त गरे। उनको भनाइ अनुसार, सिक्किम उच्च न्यायालयका पूर्व न्यायाधीशको अध्यक्षतामा हाल साक्षीहरूबाट बयान लिने र प्रमाण जुटाउने कार्य भइरहेको छ। सिक्किममा हत्यारालाई कुनै पनि अवस्थामा सहारा नदिने पनि उनले किटान गरे।
अर्कोतिर, विपक्षी दलले यस घटनालाई भोटमा परिणत गर्ने उद्देश्यले राज्यको शान्ति श्रृङखला भङ्ग गरेको आरोप लगाए। दोषीलाई कानूनले छाड्ने छैन भन्दै हालको जाँच प्रकिया चलिरहेको हुनाले विपक्षी दलको दवाउमा आएर निर्दोष व्यक्तिलाई दोषी बनाउने काम नगरिने बताए। छानबीन प्रक्रिया पुरा भएपछि कमिटीले यसको रिपोर्ट सरकारलाई बुझाउने छ भनी बताए।
तर विपक्षी दलले चुनाउ आउने समयमा भोटको राजनीति गरिरहेको उनले आरोप लगाए। उक्त घटनालाई सीढी बनाएर केही राजनीतिक पार्टीले भोट हत्याउने कोशिशमा लागिपरेको नाम्चीको घटनाले प्रष्ट दर्शाएको उनले जनाए। नाम्चीको उक्त घटनाले नाम्ची साथै सिक्किमलाई नै कलंकित बनाएको उनले बताए।
पूर्व सरकारले एनके गुरूङको घटनालाई राजनीतिकरण गरेर भोट हत्याएको पनि उनले आरोप लगाए। सिक्किम पुलिसले इमान्दारीपूर्वक काम गरिरहेको पनि उनले बताउॅंदै राज्यमा अशान्ति उत्पन्न गर्ने तत्वहरूलाई नियन्त्रण गर्ने पनि पुलिसको कर्तव्य रहेको बताए। यदि नाम्चीमा पुलिस सतर्क नभएको भए धेरै धनजनको क्षति हुनसक्ने उनले किटान गरे।