खरसाङ: तीनधारेमा पाद्री गङ्गाप्रसाद प्रधानको १७१औं जन्म जयन्ती पालन गरिएको छ। मित्र संघ तीनधारेको आयोजनामा मित्र संघ सामुदायिक भवनमा सम्पन्न उक्त कार्यक्रमलाई मित्र संघको सभापति ज्ञानबहादुर राईले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा पूर्व प्रधान अध्यापिका मार्थारानी राई, विशिष्ट अतिथिको रुपमा नवनिर्वाचित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, अतिथिहरूमा साहित्य कला संस्थान तीनधारेको सभापति-सचिव, तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयको शिक्षिकाहरु, वरिष्ठ नागरिक कल्याण संगठनका पदाधिकारीहरू उपस्थित थिए।
कार्यक्रमलाई मित्र संघको सचिव ईशान्त विश्वकर्म एवं मित्र संघको उप सभापति प्रति प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण बरुण रसाईलीले राखेका थिए भने पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी बीरेन लामाले प्रस्तुत गरेका थिए। कार्यक्रममा वार्ताकारको रुपमा दिपक प्रधान अनि युवराज सुन्दास उपस्थित रहेका थिए। कार्यक्रममा आफ्नो वार्ता प्रस्तुत गर्दै दिपक प्रधानले गङ्गाप्रसाद प्रधानको संघर्षपूर्ण जीवनबारे प्रकाश पार्दै यस्ता विभूतिलाई भुल्न नहुने भनी बताए। त्यसरी नै अर्का वार्ताकार युवराज सुन्दासले पाद्री गङ्गाप्रसाद प्रधानको पत्रकारितामाथि रहेको योगदानबारे बोल्दै उनी नै गोर्खा समुदायमा प्रथम पत्रकारिता हुल्ने ब्यक्ति हुन भनी बताएका छन्। उनले पाद्री गङ्गाप्रसाद प्रधान नै गोर्खा/नेपाली पाठ्य पुस्तकको आदि,उनी नै आदि गोर्खे पाद्री, उनी नै धर्म पुस्तक बाइबलको अनुवादक थिए भनी बताए। कार्यक्रममा एकल गीत सतीश राई र कालुराम खवासले प्रस्तुत गरेका थिए भने भूले गाउँ- तीनधारे चियाबारीका विद्यार्थी (तीनधारे उच्चतर कन्या माबि) दिव्यान्त बिश्वकर्मले नृत्य प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा यसपालीको माध्यमिक, उच्च माध्यमिक साथै स्नातक परीक्षामा उच्च अंक प्राप्त गर्ने नानीहरुलाई सम्बर्ध्दना जनाइएको छ। कार्यक्रममा कविता तथा गीत वाचन सुकुमार बराईली, पन्नु लेप्चा, मिलन प्रधान, सुवास बान्तवा आदिले गरेका थिए। कार्यक्रमलाई प्रमुख अतिथि मार्थारानी राई र एल्डर मसीह प्रकाश मोक्तानले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन मदन कुमार प्रधान (प्रमुख सल्लाहकार मित्र संघ)ले राखेका थिए।









