दार्जीलिङका पहाडी क्षेत्रमा नेपालीलाई पहिलो भाषाको रूपमा रोज्न सकिन्छ: ब्रात्य बसु

00-1-Bratya-Basu

कोलकाता: पश्चिम बंगालका शिक्षा मन्त्री ब्रात्य बसुले मंगलबार भने कि विद्यार्थीहरूले आफ्नो पहिलो भाषा अध्ययन गर्न स्वतन्त्र छन् र राज्य सरकारले यसमा हस्तक्षेप गर्दैन। उनले भने, ‘बंगालमा सबैले बंगला भाषा पढ्नुपर्छ, तर यसलाई पहिलो भाषाको रूपमा लिनु आवश्यक छैनl’ मन्त्री ब्रात्य बसुले मंगलबार सो कुरा स्पष्ट गरेका हुन्। उनले कोलकातामा बंगाली र दार्जीलिङमा नेपालीलाई पहिलो भाषाको रुपमा लिन सकिने बताए। दोस्रो वा तेस्रो भाषाको छनोट कुनै खास क्षेत्रको जनसांख्यिकीय र जातीय संरचनामा निर्भर हुने पत्रकारलाई बसुले बताए। ‘विद्यार्थीहरू पहिलो भाषा छनोट गर्न स्वतन्त्र छन्। कोलकातामा तपाईं आफ्नो पहिलो भाषाको रूपमा बंगला रोज्न स्वतन्त्र हुनुहुन्छ। दार्जीलिङका पहाडी क्षेत्रमा नेपालीलाई आफ्नो रोजाइको पहिलो भाषाको रूपमा रोज्न सकिन्छ’, उनले भने, ‘राज्यका केही क्षेत्रका विद्यार्थीले पहिलो भाषाको रूपमा अल्चिकी वा राजवंशी रोज्न सक्छन्। तपाईंले उर्दूलाई पहिलो भाषाको रूपमा पनि रोज्न सक्नुहुन्छ।’ बसुले सरकारले बंगालीलाई दोस्रो भाषाको रूपमा थोप्ने मनसाय नभएको जिकिर गरेl’ ‘दोस्रो र तेस्रो भाषाको छनोट पूर्णतया जनसंख्याको रीतिरिवाज र जातीय संरचनामा भर पर्छ’, उनले भनेl’ राज्यको शिक्षा नीतिका सिफारिसहरू बोर्ड र काउन्सिलहरूले विद्यालयमा लागू गर्ने र विश्वविद्यालयहरूले यसलाई लागू गर्ने बताए। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षा सञ्चालन गर्छ र पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को अन्तिम परीक्षा सञ्चालन गर्छ। अधिकारीले भने कि पश्चिम बंगालको नयाँ शिक्षा नीति अनुसार, कक्षा ५ देखि आठसम्मका विद्यार्थीहरूलाई तीन भाषाहरू पढ्न अनिवार्य हुनेछ, जसमा बंगलालाई प्राथमिकता दिइनेछ। सोमबार प्रदेश मन्त्री परिषद्ले स्वीकृत गरेको नीतिबारे अधिकारीले प्राथमिक तहमा दुई भाषा पढाइ हुने र एउटा मातृभाषा हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement