सालबारीमा पादरी गङ्गाप्रसाद प्रधान अनि कवि हरिभक्त कटुवाल जयन्ती पालन

IMG-20220705-WA0150.jpg

खरसाङ: सालबारीका साहित्यकारहरू अनि साहित्यानुरागीहरूको तत्परतामा सालबारीको गोम्देन टी बारको सविता गोम्देन साहित्य कक्षमा आयोजित एक विशेष कार्यक्रम आयोजना गरी पादरी गङ्गाप्रसाद प्रधान अनि कवि हरिभक्त कटुवाल जयन्ती संयुक्त रूपमा पालन गरिएको छ। शब्द समयका सक्रिय कार्यकर्ता कवि-अध्येता ज्ञानेन्द्र खतिवड़ाले प्रथममा कार्यक्रमबारे प्रकाश पारे। उनले गत सप्ताह आयोजना गरिएको शब्द समयको १०७औं प्रकरणमा साहित्यकार नरबहादुर दाहालको सुझाउ अनुसार जुलाई २ मा पर्ने हरिभक्त कटुवाल जयन्ती र जुलाई ४ मा पर्ने पादरी गङ्गाप्रसाद प्रधान जयन्तीलाई एकै दिन संयुक्त रूपमा पालन गरौं भन्ने सल्लाह हुँदा यसरी यो कार्यक्रम आयोजना गरिएको छ बताए। उनले यी दुई विभूतिका जन्म जयन्तीसितै गत १ जुलाईमा जन्मदिन परेका शहीद दुर्गा मल्ल अनि कवि सविता गोम्देनलाई पनि हामी श्रद्धापूर्वक स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नेछौं भनी बताए। त्यसपछि शब्द समयका अभिभावक व्यक्तित्व साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट विभूतिहरूको तस्वीर अघि दीप प्रज्वलन गरियो। साहित्यकार दाहालसितै उपस्थित सबै साहित्यकार अनि साहित्यानुरागीहरूले विभूतिहरूको तस्वीरमा खदा र पुष्पाञ्जली अर्पण गरेर श्रद्धाञ्जली चढ़ाए। यस कार्यक्रममा विशेष व्याख्यान प्रस्तुत गर्न निम्त्याइएका दुई व्यक्तित्वहरू साहित्यकार नरबहादुर दाहाल अनि कविवर भविलाल लामिछानेलाई खदा पहिर्याएर स्वागत सम्मान जनाइयो। आफ्नो व्याख्यान प्रस्तुत गर्दै साहित्यकार नरबहादुर दाहालले पादरी गङ्गाप्रसाद प्रधानमाथि विविध कुराहरू राखे। उनले गङ्गाप्रसाद प्रधान कसरी नौ वर्ष आठ महिनाको उमेरमा दार्जीलिङ आइपुगेदेखि उनले कुन कठिनाइमा शिक्षा हाँसिल गरे अनि विविध महत्वपूर्ण कार्यहरू गरे त्यसको सविस्तार कैरन प्रस्तुत गरे। उनले लामो समयसम्म पादरी गङ्गाप्रसाद प्रधान उनका नेपाली साहित्यमा योगदानहरूको चर्चा हुनबाट ओझेलमा रहेका थिए भन्दै पादरी गङ्गाप्रसाद प्रधानले साहित्यमा धेरै कामहरू गरेका छन्, उनले १९०१देखि गार्खे खबरकागत प्रकाशित गरे, बाइबल नेपालीमा अनुवाद गरे, उखान सङ्ग्रह, बाल साहित्य आदि निकाले। तर उनको लेखाजोखा ढिलै भए पनि भएरै छोड्यो। गरेका कामको कदर भयो। उनीमाथि कृतिहरू प्रकाशित छन्, उनको जन्म जयन्ती मनाउने कामहरू भइरहेका छन्। यसो हुँदै अहिले आएर समाजसेवी तिलक शर्माको अगुवाईमा खरसाङको गोर्खा विभूति उद्यानमा हाम्रा गौरवहरूको सालिग निर्माण गर्ने क्रममा पादरी गङ्गाप्रसाद प्रधानको पनि सालिग उभ्याएर उनको उचित कदर गर्न सकिएको छ भनी बताएका छन् । त्यसपछि कवि हरिभक्त कटुवालका छात्र रहेका वरिष्ठ कवि भविलाल लामिछानेले कवि कटुवालमाथि आफ्नो व्याख्यान प्रस्तुत गरे। हरिभक्त कटुवालसितको उनको सान्निध्यसितै कटुवालको जीवनी र उनको कार्यशैलीहरूको उनले चर्चा गरे। उनले कटुवालमा रहेको गहन भाषासाहित्य प्रेमसितै भाषा साहित्यमा उनको अमूल्य योगदानको चर्चा गरे। कवि लामिछाने भनिरहेका थिए, कवि हरिभक्त कटुवालको पहिलो प्रकाशित कृति हो ‘सम्झना’। उनको कृति ‘भित्री मान्छे बोल्न खोज्छ’ सन् १९६१मा हायमनदास राई किरातले नवयुग पुस्तक मन्दिर गोरूबथानबाट प्रकाशित गरिदिएका हुन्। उनले कवि हरिभक्त कटुवालको गीतकार पक्षलाई विशेष रूपले चर्चा गरे। उनी बताइरहेका थिए, हरिभक्त कटुवाल नेपाली भाषाका पाँच सर्वोत्कृष्ट गीतकारहरूमा पर्दछन्। उनको प्रत्येक गीत, कथा, कवितापछि एउटा-एउटा कथा हुन्थ्यो। यस अवसरमा कवि लीलबहादुर सुनारले कवि हरिभक्त कटुवामाथि रचिएको रम्भास कविता र मुक्तकहरू पठन गरे। अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाको सञ्चालनमा हालै मणिपूरमा पैह्रोको चपेटमा परेर शहीद बनेका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनटको मौन धारण गरेर उनीहरूको आत्मशान्तिको प्रार्थना गरियो। कार्यक्रममा युग्मककार कालूसिंह रनपहेंलीले धन्यवाद ज्ञापन गरे। आजको कार्यक्रममा विशिष्ट साहिकत्यकारहरू कवि मोहन ठकुरी, साहित्यकार डी.एस. बमजन, साहित्यकार आई. एन शर्मा, कवि-कथाकार खड़कराज गिरी, कथाकार-अनुवादक जीतबहादुर सुनार, कवि सुधीर घले ‘ ‘गोर्खे’, समाजसेवी पूर्ण मंगर, रघु शर्मा, चिया उद्योगबाट सेवा निवृत्त अघिकारी ललित कुमार सोताङ, गोम्देन टी बारका स्वामी अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement