सिलगढी: भारतको राष्ट्रिय झण्डा हुलाक कार्यालयबाट मात्र रु २५ मा तपाईको घरमा डेलिभर गरिनेछ। गत वर्ष केन्द्र सरकारले स्वतन्त्रताको अमृत महोत्सव मनाउन ‘हर घर तिरंगा अभियान’ सुरु गरेको थियो। गत वर्ष यो अभियानले उत्कृष्ट प्रतिक्रिया पाएको थियो। यस अभियानमा गत वर्ष सिलगढी मुख्य हुलाक कार्यालयबाट २० हजारभन्दा बढी राष्ट्रिय झण्डा बिक्री गरिएको थियो। यस वर्ष पनि राष्ट्रिय झण्डाको बिक्री सुरु भएको छ।

‘हर घर तिरंगा’ अभियानलाई गत वर्ष झैँ सफल बनाउन भारतीय हुलाक विभागले राष्ट्रिय झण्डा अनलाइनमार्फत ग्राहकसम्म पुर्याउने व्यवस्था गरेको छ। नागरिकहरूले हुलाक कार्यालयको ई-पोर्टल www.epostoffice.gov.in मार्फत राष्ट्रिय झण्डा अर्डर गर्न सक्छन्। २५ पैसा मात्र तिरेर राष्ट्रिय झण्डा पाइनेछ। एक व्यक्तिले ५ झण्डा अर्डर गर्न सक्छ। एकपटक अर्डर गरेपछि यसलाई रद्द गर्न सकिँदैन। हुलाक कार्यालयमा गएर पनि राष्ट्रिय झण्डा किन्न सकिन्छ। सिलगढी हेड पोस्ट अफिसमा सेल्फी जोन बनाइएको छ। जहाँ ग्राहकले झण्डा खरिद गर्दा फोटो खिच्न सक्नेछन्। सिलगढीको मुख्य हुलाक कार्यालयबाट हालसम्म १०० झण्डा बिक्री भएको हुलाक कार्यालय स्रोतले जनाएको छ।