८ अगस्तः कालेबुङ स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा मंगलवार स्थानीय मेला ग्राउण्डमा दुईवटा म्याच खेलियो। आजको पहिलो म्याचमा ब्राइट स्पोर्टिंग क्लबले ११ स्टार असमलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट जोन खातीले १३औं र एम. लिम्बुले ५२औं मिनटमा गोल गरे। यसरी असमको टीमबाट भाग्यजीत राभाले गोल गरे। यसरी दोस्रो म्याचमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले नर्थ बेंगल आर्म्ड पुलिसलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट उत्तम राईले ११औं र ४९औं मिनटमा २ गोल गरे। यसबाहेक मिलन लिम्बुले २६औं र फोडे फोफोंगले ३२औं मिनटमा गोल १-१ गोल गरे। यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १२ र १३ अगस्तमा हुनेछ। फाइनल १५ अगस्तमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। बुधवार क्वार्टर फाइनलमा कञ्चनजंघा एफसी र स्टार इलेभेन, नेपालबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।