८ अगस्तः आईसीसी वनडे क्रिकेट वर्ल्ड कप २०२३ नजिक आइसकेको छ अनि यस प्रतिष्ठित टुर्नामेण्टलाई लिएर क्रिकेटका दिग्गजहरूमा निक्कै चासो देखिएको छ। यसबीच अष्ट्रेलियाका पूर्व पेस बलर ग्लेन म्याकग्राले वर्ल्ड कपको शीर्ष चारमा पुग्ने टीमहरूलाई लिएर भविष्यवाणी गरेका छन्। म्याकग्राको भनाइअनुसार, न्यूजील्याण्डको टीम शीर्ष चारमा पुग्न सक्नेछैन। उनले सेमिफाइनलमा पुग्ने चारवटा टीममा अष्ट्रेलिया र आयोजक भारतको साथमा ईंग्ल्याण्ड र पाकिस्तानको चयन गरेका छन्। अष्ट्रेलियालाई शीर्ष चारमा सामेल गर्ने म्याकग्राको फसेला चकित गर्ने चाहिँ होइन कारण अष्ट्रेलियाले सर्वाधिक पाँचपल्ट वर्ल्ड कप जितिसकेको छ। यसरी आफ्नो होम ग्राउण्ड्समा खेल्ने हुनाले भारतीय टीमलाई भरपूर समर्थन प्राप्त हुने तय छ। यसबाहेक भारतले यसअघि १९८३ र २०११-मा वर्ल्ड कप जितिसकेको छ। २०११-को वर्ल्ड कप भारतमै खेलिएको थियो। यसैकारण यसपाली भारतलाई खिताब जित्ने प्रबल दावेदार मानिएको छ।
यसको साथमा गत च्याम्पियन ईंग्ल्याण्डले पनि २०१९-को सफलतालाई दोहोऱ्याउने प्रयास गर्नेछ। ईंग्ल्याण्डको टीममा स्टार खेलाड़ीहरू रहेका छन्, जसले गत केही सालदेखि सीमित ओभरको प्रारूपहरूमा अलग छाप छोड़ेका छन्। यसरी नै १९९२-को च्याम्पियन पाकिस्तान पनि एशिया अनि विशेषगरी भारतको माटोमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न तयार छ। यस साल अक्टोबर-नोभेम्बर महिना हुने वर्ल्ड कपमा भारत र पाकिस्तानबीच म्याच १४ अक्टोबरमा अहमदाबादमा खेलिनेछ। प्रशंसकहरूबीच त्यस म्याचलाई लिएर अहिलेदेखि नै व्यापक उत्साह देखिएको छ। एक लाखभन्दा अधिक दर्शक क्षमता भएको अहमदाबादको स्टेडियम त्यस म्याचको समय हाउसफूल हुने तय छ।