दार्जिलिङ: गत पञ्चायत चुनावमा बिजय हुने स्वतन्त्रवप्रार्थीहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने क्रम जारी छ। यसै क्रममा भागोप्रमोको मिशन पुनर्मिलन कार्यक्रम सफल बन्दै गईरहेको भागोप्रमोले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। चुनाव समय टिकट नपाएर पार्टी छोडेर गएपछि स्वतन्त्र उम्मेदवार बनेर लड्ने स्वतन्त्र विजेताहरू पुनः भागोप्रमोमा फर्कन थालेको विज्ञप्तिमा बताइएको छ। स्वतन्त्र विजेताहरुको घर वापसीको क्रममा आज दार्जीलिङ पुल बिजनबारी पञ्चायत समिति अन्तर्गत नयाँनोर ग्राम पञ्चायतका स्वतन्त्र विजेता मिन्टु लमु तामाङ भागोप्रमोमा सामेल भएका छन्। आज पार्टी अध्यक्ष अनित थापालाई भेट गरी उनी पुनः पार्टीमा फर्केर आएको उनले जानकारी दिएकी छिन्। तामाङ भन्छन, “चुनावको समय टिकट नपाएर स्वतन्त्र उम्मेद्वार भएर लडेको थिए। चुनाव जिते पनि। तर आफ्नो गाउँमा विकास ल्याउन एक्लै सकिन्न भन्ने लाग्यो। त्यसैले मलाई भोट दिनेहरुसँग सल्लाह गरेर नै म भागोप्रमोमा फर्केर आएको हुँ।”
पुल बिजनबारी गोक समष्टिका संयोजक विनय सुब्बाले जानकारी दिँदै भने, “नयाँनोर ग्राम पञ्चायत ९ सदस्यीय ग्राम पञ्चायत हो। ५ सिट ल्याएर भागोप्रमोले बहुमत हासिल गरिसकेको छ। आज मिन्टु लमु तामाङ पनि फर्केर पार्टीमा नै आउनु भयो। अब हाम्रो सिट संख्या ६ पुगेको छ। रहल ३ सिटमा स्वतन्त्र विजेताहरू छन्। उहाँहरू पनि गाउँको विकास हेतु हामी सँगै जोडिनु चाहनु हुन्छ भने हामी स्वागत गर्छौ।”