गान्तोकः सत्तारूढ़ एसकेएम पार्टीले राज्यका विपक्षी दलहरूमाथि स्वर्गीय पदम गुरूङको मृत्युको घटनालाई राजनीतिकरण गरिरहेको आरोप लगाएको छ। सम्पूर्ण सिक्किमे समाजले स्वर्गीय गुरूङलाई शीघ्र न्याय प्राप्त होस् भन्ने धारणा राख्दछ, तर विपक्षी दलहरूको राजनीतिक स्वार्थले घटनालाई राजनीतिकरण गर्ने कुत्सीत प्रयास गर्दै प्रशासनलाई समेत केरकार र अनुसन्धानमा बाधा पुऱ्याउने काम गरिरहेको एसकेएमले बताएको छ।
एसकेएम प्रचार-प्रसार महासचिव एनबी गुरुङले प्रेस विज्ञप्तिमा भनेका छन्, विपक्षीहरू अहिले सिक्किमलाई हिंसा र अशान्तिमा परिणत गरी यसको दोष सिक्किम सरकारलाई थोपर्न चाहन्छन् भन्ने प्रमाण हिजो दक्षिण सिक्किमको नाम्चीमा भएको घटनाले स्पष्ट पारेको छ। यसरी शान्तिमय सिक्किममा तनाव सृजना गरी वर्तमान सरकारलाई दोष दिएर आफ्नो सरकारमा मात्र राज्यमा शान्ति, सुरक्षा कायम रहेको भनी ठोकुवा गर्ने पवन चामलिङ र एसडीएफ पार्टीले हिजो उनीहरूले शान्ति जुलुसका लागि अघि आएका नागरिकबीच ताण्डव मच्चाएर लज्जास्पद कार्य गरेको विषय निन्दनीय छ।
उनले नाम्चीमा डाकिएको शान्ति जुलुसमा भाइचुङ भोटियाले आफ्नो पार्टीको लागि भोट अपील गरेको, पासाङ शेर्पा र उनको टोलीले भीड़लाई उक्साएको, छिरिङ वाङदी र उनका साथीहरूले ऱ्याली एसडीएफ पार्टीले आयोजन गरेको हो भन्ने रूप दिइरहेका थिए भने क्यापका युवाहरू पनि राजनीतिक लाभको खोजीमा त्यहाँको स्थितिलाई भड्काउन मग्न देखिएको आरोप लगाएका छन्। विपक्षी दलहरूले स्वर्गीय पदम गुरूङको परिवार र गुरूङ समुदायको नाममा ऱ्यालीलाई पूर्ण रूपमा हस्तक्षेप गरी राजनीतिमा परिणत गरे जो किञ्चित पनि स्वीकारयोग्य रहेन भनी उनले विज्ञप्तिमा बताएका छन्।
स्वर्गीय पदम गुरूङको निधनलाई लिएर गठित जाँच आयोगद्वारा आगामी १२ अगस्तका दिन विवरण पेश गरिने भएको छ भने सो दिनलाई नै केन्द्र गरी म्याद दिएर विपक्षीहरूले पुनः ताण्डव मच्चाउने प्रयास गर्दै न्याय प्रणाली र पुलिस प्रशासनमाथि विश्वास नरहेको जस्तो सन्देश जनतामा फैलाउने चेष्टा गरिरहेको उनले बताएका छन्। उनले भनेका छन्, विपक्षी दलहरूले पीड़ित परिवारलाई सहारा बनाएर राजनीतिक सिँढ़ी उक्लिन खोज्नु र पुलिस प्रशासन र सरकार विरूद् नाराबाजी गर्नु र जनतालाई दुरूपयोग गर्नु अत्यन्तै लज्जास्पद कुरा हो। यदि हिजो पुलिस बलहरू त्यस स्थानमा तैनाथ न रहनु हो भने विपक्षीहरूले यहाँ अझ ठूलो घटना सृजना गर्ने थिए भनी उनले विज्ञप्तिमा जनाएका छन्।