गान्तोक: राजधानीमा सम्पन्न भइरहेको तीन दिवसीय राज्यस्तरीय टेण्डोङ ल्हो रुम फाटको आज दोस्रो दिन पनि भव्यरूपमा सम्पन्न भयो।राजधानीस्थित एमजी मार्गमा पहिलो चरणको कार्यक्रम सम्पन्न भयो। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा भू- प्रयोग अनि पर्यवरण बोर्डका अध्यक्ष छिरिङ लेप्चा मुख्य अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न वर्गमा आयोजित निबन्ध लेखन प्रतियोगिता अनि चित्रकला प्रतियोगिताका विजेताहरूलाई उपस्थित मुख्य अतिथि लगायत अन्य विशिष्ट अतिथिहरूको बाहुलीबाट पुरस्कारहरू प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लेप्चाले वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले विभिन्न जात गोष्ठिलाई आ-आफ्नो जातिय चाढ़ पर्वहरू पालन गर्नको निम्ति स्वतन्त्रता दिएको बताए। यसरी राज्यमा साम्प्रदायिक सद्भावना बढ़ेर गएको पनि उनले किटान गरे।
दोस्रो चरणको कार्यक्रम मनन केन्द्रमा आयोजन भयो जसमा लेप्चा सांस्कृतिक नृत्य प्रतियोगिता रहेको थियो। यसरी नै आजको तेस्रो चरणको कार्यक्रम एमजी मार्गमा नै सम्पन्न भयो जसमा विभिन्न लेप्चा कलाकारहरूले लोक संगीत अनि सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। ज्ञात रहोस्, हिजोदेखि शुरु भएको तीन दिवसीय कार्यक्रमको समापन भोलि मनन केन्द्रमा हुनेछ भने सो कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहनेछन्।