खरसाङ: पहाड तराई डुवर्स क्रिश्चियन अगुवाहरूतो संगठनको बैठक केही दिन अघि एचएफसी सिलगढीमा रेभरेन्ट उदय पोर्तेलको नेतृत्वमा सम्पन्न भएको थियो। उक्त सभा पास्टर दिलिप गुरुङ कालेबुङको स्वागत मन्तव्यबाट सुरु भएको थियो। सभामा पास्टर भिक्टर मोक्तान, डा छत्र पावल सुब्बा, पास्टर जेम्स योञ्जन, पास्टर रोधन थापा, पास्टर आशिष धुक्पा, रेभ साकोम लेप्चा लगायत धेरै वरिष्ठ पास्टरहरुको उपस्थिति रहेको थियो। बैठकमा विभिन्न विषयहरूमा छलफल गरिएको थियो। सभामा क्रिश्चियन समुदायका लागि चुनौतीहरू, अवसरहरूबारे छलफल गरिएको थियो। त्यसरी नै विभाजित चर्चहरू र सम्प्रदायहरूको एकताको महत्त्व विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो।
सभामा धर्मशास्त्रीय सर्कलका मानिसहरूलाई क्रिश्चियन एकताको महत्त्वबारे राम्ररी थाहा छ तर ठूलो संख्यामा मानिसहरू अझै यसप्रति जागृत भएका छैनन् भनी सभामा बताइएको जानकारी प्राप्त भएको छ। यसैले एकताको महत्त्वको बारेमा चर्चका अगुवाहरू र स्थानीय मण्डलीहरूलाई चेतना र व्यापक विश्वव्यापी दर्शन सिर्जना गर्ने विषयमा चर्चा गरिएको छ। सभामा युवाहरूलाई उपलब्ध गराइएका अवसरहरूको एक हिस्सा बन्न प्रोत्साहित गर्न र युवाहरूलाई उनीहरूको करियर पछ्याउन र ठूलो उचाईमा पुग्न मद्दत गर्न र राष्ट्र निर्माणमा योगदान दिन उनीहरूमा चेतना जगाउन सुसमाचार, मिशन, शिक्षा लगायत अन्य सामाजिक गतिविधिहरू जस्ता साझा क्षेत्रहरूमा चुनौतीहरू लिने प्रयास गर्नु पर्ने बताएका छन्। आजको परिस्थितिमा क्रिश्चियन एकताको प्रश्न सान्दर्भिक प्रश्न हो भनी कुरा उठाइएको थियो भने सभाको अन्त्यमा मणिपुरको लागि प्रार्थना पनि गरिएको थियो भनी तीनधारेका पास्टर उदय पोर्तेलले जानकारी गराएका छन्।