पाकिस्तानको सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको एउटा रेल दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको छ। उक्त रेलमा झन्डै १,००० यात्रु सवार थिए। पाकिस्तानका रेलवे मन्त्रीले कम्तीमा २८ जनाले ज्यान गुमाएको पुष्टि गरेका छन्। दुर्घटनामा झन्डै १०० जना घाइते भएका छन्। दुर्घटनामा आठवटा डिब्बा रेलको लिकबाट खसेका थिए। घाइतेहरू त्यसमा फसिरहेका छन् र उनीहरूलाई निकाल्ने प्रयास जारी छ।
स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८ डिब्बा खालि गरिएको र दुईवटालाई सिधा बनाउन क्रेन मगाइएको जानकारी दिए।
पछिल्लो विवरण के छ? घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। उद्धार टोलीहरूले डिब्बाहरूमा फसेका मानिसहरूलाई निकाल्ने प्रयत्न गरिरहेका छन्। उद्धारका लागि सेनाको टोलीलाई बोलाइएको छ।
नवाबशाह र नजिकैको सिन्ध जिल्लाका अस्पतालहरूमा सङ्कटकाल घोषणा गरिएको छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा पल्टिएका डिब्बाहरूमाथिबाट केही यात्रुहरू निस्किरहेको देख्न सकिन्छ। सङ्घीय रेलवे तथा उड्डयन मन्त्री ख्वाजा साद रफिकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गर्नुअघि सुरुमा उद्धारमा ध्यान दिइने उल्लेख गरेका छन्।
लाहौरमा एउटा पत्रकार सम्मेलनमा उनले भने, “रेल सही गतिमा गुडिरहेका थियो र उसको स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको थियो।”
यसअघि उच्च गतिका कारण उक्त दुर्घटना भएको आशङ्का गरिएको थियो। ठूलो सङ्ख्यामा स्थानीयवासिन्दाहरू घटनास्थलमा पुगेका छन्। उनीहरूले यात्रुहरूलाई बाहिर निकाल्न सहयोग गरिरहेका छन्। कराचीभन्दा करिब २७५ किलोमिटर पर हजारा एक्सप्रेसको सो रेल दुर्घटनाग्रस्त भएको थियो।
उक्त रेल कराचीबाट एबटाबादतर्फ गइरहेको बताइएको छ।
दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीसँग भनेका छन्, “कैयौँ यात्रीहरू डिब्बाको मुन्तिर थिचिएका छन्। त्यसमध्ये कतिपयको अवस्थामा गम्भीर छ।”
पाकिस्तानको पुरानो रेलवे प्रणालीमा यस्ता दुर्घटना नौलो होइन्। सन् २०२१ मा सिन्ध प्रान्तमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा ४० जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए। सन् २०१३ देखि सन् २०१९ सम्म यस्ता दुर्घटनामा १५० जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।