६ अगस्तः प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करण आइतवार (६ अगस्त)-देखि शुरु भयो। दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज दिनको पहिलो म्याचमा भा-तकभर युनाइटेड एफसी-ले तरुण खेलकुद संघलाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी दोस्रो म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले हिमालयन फूटबल क्लबलाई ५-१-ले पराजित गरी प्री-क्वार्टर फाइनलमा स्थान बनायो। विजेता टीमबाट रोनिक राई र सत्यम राईले २-२ अनि विनेद केसी-ले १ गोल गरे।

यसरी हिमालयन एफसी-बाट सौरभ छेत्रीले १ गोल गरे। यस साल टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।