खरसाङ: खरसाङको एउटा लोकल च्यानल हाम्रो टेलिभिजन खरसाङको सातौं स्थापना दिवस समारोह सम्पन्न भएको छ। उक्त समारोह खरसाङको सुबेदार बस्तीस्थित सार्वजनिक भवनमा पण्डित तुलसीप्रसाद अधिकारीको अध्यक्षता र वरिष्ठ नारी स्रष्टा विष्णु ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। विशिष्ट अतिथिको रूपमा निमा लामा, एसबी सुनवार, जीबी बल आदि उपस्थित रहेका थिए। दिपक ठटाल र शम्भु राईले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रहरूबाट आएका विभिन्न विधाका मानिसहरू उपस्थित रहेका थिए। कार्यक्रममा हाम्रो खरसाङ टेलिभिजनको साहित्यिक कार्यक्रम साहित्य उद्यानमा पहिलेबाटै सहभागी बनेका कवि साहित्यकारहरूलाई सम्मान जनाइएको थियो भने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गीत, कविता, व्यंग्य, नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। यस कार्यक्रममा मुख्य रूपमा दार्जिलिङका नारी स्रष्टा शारदा स्टेफीलाइ हाम्रो खरसाङ टेलिभिजनको पक्षमा सम्बर्ध्दना जनाइएको थियो। यस अवसरमा उनलाई खदार्पणसहित फूल गुच्छा प्रदान गर्दै सम्बर्ध्दना पत्रद्वारा सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै खरसाङ क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएका सामाजिक संस्था खरसाङको सेरोफेरोलाई पनि सम्बर्ध्दना जनाइएको छ। हाम्रो टेलिभिजन खरसाङ सन् २०१६ मा स्थापना भएर विगत सात वर्षदेखि खरसाङमा लोकल च्यानलको रूपमा साथै अनलाइन पनि सञ्चालन भईरहेको छ। हाम्रो खरसाङ च्यानलको सातौं स्थापना दिवस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै च्यानलको संस्थापक निर्देशक राजेन्द्र तामाङले उपस्थित सबैलाई धन्यवाद दिन्दै अहिलेको समयमा कुनै प्रकारको सहयोगबिना निष्पक्ष रूपमा लोकल च्यानल सञ्चालन गर्नु निक्कै कठिन हुने बताएका छन्।