पाकिमः सिक्किम सरकारको कृषि, बागवानी, पशुपालन, पशु चिकित्सा सेवा तथा श्रम विभागका मन्त्री लोकनाथ शर्माले आज सन्त जेभियर्स स्कूलको प्रेक्षागृहमा पाकिम जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रियात्मक सत्रमा भाग लिए।आफ्नो सम्बोधनमा मन्त्री शर्माले दिगो आमदनीका श्रोतहरू सिर्जना गर्न युवाहरूलाई कृषि र पशुपालन व्यवस्थापनमा पेशा अपनाउन सल्लाह दिए। उनले खाद्यान्न आपूर्तिबिना मानिसको अस्तित्व सम्भव नभएकाले अर्थतन्त्र निर्माणमा कृषिको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी वर्षहरूमा कृषि र बागवानी उद्योगहरूको ठूलो अवसर बन्ने बताए। उनले विद्यार्थीहरुलाई उत्पादकत्व बढाउन सीप विकासमा ध्यान दिन आग्रह गर्दै उद्यमी बन्नुपर्ने दिशामा जोड दिए।
उनले कृषि र पशुपालनको महत्वबारे जनतालाई जानकारी गराउन विभागले विभिन्न विद्यालयमा सचेतना शिविर सञ्चालन गर्ने बताए। मत्स्यपालन विभागले प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत विभिन्न नयाँ केन्द्रिय समर्थित कार्यक्रमहरूलाई पनि सम्बोधन गरेको जानकारी गराए।कार्यक्रममा लाभार्थीहरूले पशुपालन तथा पशु चिकित्सा सेवा विभागबाट दुग्ध ऋण र सुँगुर उत्पादन प्रोत्साहन योजना पनि प्राप्त गरे। त्यसपछि लाभार्थीहरूलाई पानी ट्याङ्की, पल्भराइजर र अन्य कृषि उपकरणको आवन्टन वितरण गरिएको थियो। कुल पाँच सरकारी विद्यालयहरू माचोङ, नाम्चेबुङ, पाचे, डिक्लिङ र मामरिङ उच्चतर माध्यमिक पाठशालाहरूले उच्च प्रविधियुक्त पूर्वनिर्मित ग्रीनहाउसहरू प्राप्त गरे। कार्यक्रममा जिल्ला अधिकारी लाडेन ल्हामु भोटिया, ओएसडी कृषि तथा बागवानी पीके सुब्बा, बागवानी निर्देशकहरू, शिक्षकहरू, विद्यालय प्रमुख र विद्यार्थीहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।