कालचिनीः अल इन्डिया गोर्खा खस कामी दमाई सार्की युनाईटेड फोरमको एउटा जरुरी सभा आइतबार कालचिनी स्थित ३ नम्बर टीजी प्राथमिक विद्यालय भवनको प्रेक्षागृहमा सम्पन्न भयो। उक्त सभामा सो संगठनका कार्यकारी अध्यक्ष अशोक विश्व लोहार लगायत महासचिव आनन्द ठठाल, कोषाध्यक्ष रोशन ठठाल एवम् अन्यान्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभाको मूल उद्देश्य कालचिनी ब्लक ख कमिटीको गठन र आगामी २७ अगस्तको दिन संगठनको स्थापना दिवस साथै नेपाली भाषा मान्यता दिवस पालन गर्ने विषयमा छलफल एवम् अन्यान्य विषयहरू लिएर सभा सम्पन्न भएको अशोक विश्व लोहारले जनाएका छन्।
आइतबार सम्पन्न सभामा कालचिनी ब्लक ख कमिटीको गठन पनि गरिएको र कमिटीको नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत जनाईएको बताईएको छ। नवनिर्वाचित कमिटीमा अध्यक्षको पदमा बाबलु सापकोटा, उपाध्यक्षमा दिलीप परियार, सचिवमा रवि सार्की, सहसचिवमा अमित सापकोटा, कोषाध्यक्षमा आशीष लोहार सहकोषाध्यक्षमा निहाल सार्की र संयोजकमा प्रल्हाद विश्वकर्मा एवम् अन्यान्य पदाधिकारीहरूको चयन गरिएको बताईएको छ। नवनिर्वाचित कमिटी सदस्यहरूलाई अल इन्डिया गोर्खा खस कामी दमाई सार्की युनाईटेड फोरमको पदाधिकारीहरू अशोक विश्व लोहार, मनोज नौबाग, दिनेश सापकोटा, रोशन ठठाल, विक्रम दर्नाल विष्णु सार्की एवम् अन्यान्यले शुभकामना दिएका थिए। संगठनको आगामी कार्यक्रमबारे विस्तृत जानकारी गराउन थप सभाको आयोजना गरिने अशोक विश्व लोहारले जनाएका छन्।