सोनादा: सोनादा भेगका वरिष्ठ लोककलाकार, लोकगायक, संस्कृतिविद, समाजसेवी जीडी कार्कीको स्मृतिमा प्रकाशित “सम्झनाहरूमा लोक कलाकार जीडी कार्की'” स्मृति गुच्छ एक समारोहबीच लोकार्पण गरिएको छ। भाषाविद् डा गोकुल सिन्हाको अध्यक्षता, आकाशवाणी खरसाङका प्रमुख कार्यक्रम निष्पादक पारसचन्द्र आलेको प्रमुख आतिथ्य, वरिष्ठ गीतकार अजीत बस्नेत, प्रा देवकुमार प्रधान, प्रा मेघनाथ छेत्री, कवि सूर्य श्रेष्ठ, दिलमाया कार्की, कवि जोगेन दर्नाल, साहित्यकार रामराज राई, कवि राजेन्द्र पासा, सम्पादक बुद्ध संगम, सोनु राई, कवि जइन्द्र जेनियमआदिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा श्री सत्य साई समिति नाली चौर पचेङका नानीहरूले वेद मन्त्रोच्चारण गरेका थिए भने समारोहमा वरिष्ठ गायिका सोनु राईले जीडी कार्कीको प्रसिद्ध गीत “सपनी नराम्रो देखेर चिठ्ठी लेख्दैछु” नामक गीत गाएर सुनाएका थिए। स्मृति गुच्छका प्रधान सम्पादक नरेश कटुवालले स्वागत सम्भाषण राखेका थिए साथै समारोहलाई आरजे समीर छेत्रीले सञ्चालन गरेका थिए। समारोहमा उपस्थित वक्ताहरूले जीडी कार्कीको सामाजिक अनि सांस्कृतिक योगदानको चर्चा गर्दै हाम्रा विभूतिहरूलाई यसरी नै सम्झना गरी उनीहरूको सुकार्यलाई जोगाई राख्नु पर्ने कुरा व्यक्त गरेका थिए। समारोहमा गाउँका वरिष्ठ नागरिकहरू ईन्द्रकला ढुङ्गेल अनि गङ्गी सिंहलाई सम्मान् जनाइयो भने फार्मसुटिकलको उच्च शिक्षामा स्वर्ण पदक ल्याउने आसिक छेत्रीलाई सम्मान पनि जनाइएको थियो। प्रकाशन पक्षबाट देवेन कार्कीले धन्यवाद ज्ञापन गरेका थिए। आजको समारोहमा सोनादा लगायत टाढा नजिकका साहित्य, सङ्गीत तथा सामाजिक क्षेत्रका महानुभावहरूको व्यापक उपस्थिति थियो।