दार्जीलिङ: मङ्गलबारभारतीय जनता पार्टी, दार्जीलिङ जिल्ला समितिको तत्त्वावधानमा पार्टीका जिल्ला स्तरीय नेतृत्वहरूका दुईवटा अलग अलग टोलीले दार्जीलिङ जिल्लापाल अनि कालेबुङ जिल्लापालमार्फत राज्यका मुख्यमन्त्रीलाई एउटा ज्ञापन पत्र पठाएको छ। उक्त पत्रमा विगत सन् २०१७ देखि निर्वाचित जनप्रतिनिधिविहीन र अचल रहेको जीटीए क्षेत्रमा पश्चिम बङ्गाल सरकारले चुनाव गराउने तत्परता आरम्भ गरेको विषयमा आपत्ति जाहेर गरिएको छ। जीटीएले भारतीय गोर्खाहरूको आकाङ्क्षा पुरा नगर्ने हुँदा भाजपा गठबन्धन र क्षेत्रवासी चुनावका पक्षमा नरहेको सन्दर्भ पत्रमा विस्तारपूर्वक उल्लेख गरिएको छ। पत्रमा जीटीए चुनावको विरोध गरिनाका विभिन्न कारणहरू उल्लेख गरिएको छ। यसका साथै भारतीय गोर्खाहरूको राजनैतिक समस्याको जनाकाङ्क्षित औं संवैधानिक समाधानका सन्दर्भमा केन्द्र सरकारले बोलाएको त्रिपक्षीय वार्ताहरूमा राज्य सरकारले विशेष महत्त्व दिँदै आफ्नो उपस्थिति दिएर केन्द्र सरकारले गोर्खाहरुलाई दिन चाहेको संवैधानिक व्यवस्था बारे अन्तिम रूप दिन भनी सहयोग गरिदिने तथा उक्त प्रक्रिया पुरा नहुन्जेल जीटीएको चुनावलाई स्थगित राखिदिने निवेदन पनि गरिएको छ। त्यसरी नै कालेबुङ जिल्लापालमार्फत् पत्र पठाउने टोलीमा भाजपा दार्जीलिङ जिल्ला समितिका उपाध्यक्ष एवं प्रवक्ता विनोद मोक्तान, महासचिव सञ्जय विष्ट,सचिव उमेश राई, गोपाल शर्मा, कुमार चाम्लिङ, कार्यालयीय सचिव प्रेम छेत्री, आई.बी. राई, जिल्ला सदस्य देशभक्त सुब्बालगायत किरण थापा अनि केशरी शर्माको विशेष उपस्थिति रहेको थियो। ज्ञापन पत्र बुझाउने दार्जीलिङको टोलीमा महासचिव सुजेन्द्र राई, सचिव अधिवक्ता पीसी थापा, सचिव आशिष बाङ्देल, जिल्ला समिति सदस्य सुकवीर तामाङ अनि जितेन तामाङ अनि दार्जीलिङ टाउन कमिटीका अमित थापाको उपस्थिति रहेको थियो। यसका साथै जीटीए चुनावले स्थायी राजनैतिक समाधानको प्रक्रियामा पर्ने नकरात्मक प्रभावहरूको उल्लेख गरी भाजपा, दार्जीलिङ जिल्ला समितिले आज गठबन्धनदेखि बाहिरका राजनैतिक दलहरूलाई पनि चुनावमा नजाने अनुरोध गरेर एउटा अनुरोध पत्र पठायो। पार्टीको जिल्ला समिति सदस्य अमर शर्मा, राजीव राई,भरत सुब्बा, युवा मोर्चाका विक्रम मुखिया अनि सावन सुब्बाहरूको टोलीले जनहित र जातिहितमा जीटीए चुनावमा नजाने अनुरोध गरिएको सो पत्र पाहाडमा रहेका गठबन्धनदेखि बाहिरका राजनैतिक दलहरूलाई प्रेषित गरेका छन्।









