चियाबारीको लागि जमीनको अधिसूचना ऐतिहासिक हो जसको लागि अनित थापा स्यावासीको पात्र हुन्: डी. के. प्रधान
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा खरसाङमा धन्यवाद रैलीको आयोजना गरिएको छ। पश्चिम बंगालको मन्त्री परिषदले चियाबारी क्षेत्रको जमीनको पर्जा पट्टा दिलाउन अधिसूचना जारी गरिएपछि भागोप्रमोको भातृ संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा अनि पश्चिम बंगाल सरकारलाई धन्यवाद दिनलाई खरसाङमा उक्त धन्यवाद रैलीको आयोजना गरिएको छ। खरसाङमा आयोजित उक्त धन्यवाद रैली खरसाङको टुरिस्ट लजबाट शुरु भएर खरसाङ बजार परिक्रमा गर्दै वर्ध्दमान रोड भएर मोटर स्ट्याण्डसम्म आएर धन्यवाद सभामा परिणत भएको छ। उक्त रैलीमा हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियनको पदाधिकारीहरू विशेष रूपमा उपस्थित रहेका थिए। उक्त रैलीमा चियाबारी क्षेत्रमा पर्जा पट्टा दिलाउन सफल भएको भन्दै अनित थापा जय जयकारको नारा लगाइएको थियो भने सबैले पार्टी अध्यक्ष अनित थापालाई धन्यवाद दिएका थिए। उक्त रैली खरसाङको मोटर स्ट्याण्डमा पुगेर धन्यवाद सभामा परिणत भएको थियो। उक्त धन्यवाद सभाको अध्यक्षता हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङको अध्यक्षता र सचिव भक्तिमान तामाङको सञ्चालन गरिएको थियो। उक्त धन्यवाद सभालाई प्रमुख वक्ताको रूपमा बोल्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष डीके प्रधानले चियाबारी क्षेत्रमा जमीनको पर्जा पट्टा प्रदान गर्नलाई अधिसूचना जारी गर्नु ऐतिहासिक रहेको र यसको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा स्याबासीको पात्र हुन् भनी बताएका छन्। उनले भने, ये अधिसूचनाले के फाइदा छ म खुल्ला रूपमा विपक्षीकाहरूलाइ बताउन सक्छु। यो अधिसूचनाको निर्णय एेतिहासिक रहेको छ। किनभने भारत स्वतन्त्र भएपछि कुनै पनि सरकारले चियाबारी क्षेत्रका लागि यस्तो अधिसूचना जारी गरिएको थिएन। यसको लागि यलपाली बंगाल सरकारलाई भागोप्रमो अध्यक्ष अनित थापाले सबै कुरा बुझाएर अधिसूचना जारी गर्न लगाएका हुन्। उनलाई थाहा छ कि दार्जिलिङ पहाड़का 70 प्रतिशत मानिसहरू चियाबारी क्षेत्रमा बस्छन् तर जमीनको कागज पत्र छैन भनेर। अनित थापाले यो ठूलो काम गरेका छन्।’
भागोप्रमोको केन्द्रीय उपाध्यक्ष डीके प्रधानले अघि भने, ‘यो सुनौलो मौका हो। त्यसलाई अवसरको रूपमा लिनुपर्छ। तर यसलाई शरणार्थी पट्टा र फेक पट्टा भन्नु मूर्खता हुनेछ। एनआरसी र सीएए लागु भएको खण्डमा सबैभन्दा ठूलो दस्तावेज जमीनको कागज पत्र हो। त्यसैले यो मौकालाई गुमाउनु हुँदैन।’ उनले अझ भने, ‘अहिले 8 डेसिमल जमीनको कुरा छ। तर फेरि हामी खेतेपाती गर्ने जमीनको लागि पनि प्राप्त गर्नलाई कोशिष गर्नेछौं। यो अधिसूचना खेलाञ्ची होइन। विपक्षीहरूलाई म भन्न चाहान्छु कि यो ठूलो मौका छ गुमाउनु हुँदैन। तर यदि थाप्नु चाहानु हुँदैन भने थाप्नेलाई पनि नभड्काउनु हवस्।’

उक्त धन्यवाद सभालाई हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियनको केन्द्रीय अध्यक्ष जेबी तामाङ, केन्द्रीय महासचिव भरत ठकुरी, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान र सभाध्यक्ष सागर गुरुङ अादिले पनि वक्तव्य दिएका थिए। उक्त रैली र धन्यवाद सभामा हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको उपाध्यक्षद्वय जनक छेत्री र किसान लेप्चा, सभासदहरू क्रमैले कल्पना प्रधान, श्याम शेर्पा, नुरी शेर्पा, नवराज छेत्री, प्रणाम रसाईली, भागोप्रमो केन्द्रीय सदस्यहरू लक्ष्मण राई, समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, खरसाङ महकुमा समितिको सागंठनिक सचिव राजीव थापा, नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान, जैतुन निशा खातुन लगायत अन्यहरू उपस्थित रहेका थिए।