खरसाङ: गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा पाद्री गङ्गाप्रसाद प्रधानको १७२औं जन्म जयन्ती पालन गरिएको छ। पूर्वार्ध्दको कार्यक्रममा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न भएको छ भने उत्तरार्ध्दको कार्यक्रम गोर्खा जनपुस्ताकालय भवनको पारसमणि प्रेक्षागृहमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र वरिष्ठ साहित्यकार सलोन कार्थकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महाविद्यालयको सह प्राध्यापक योगेस खाती, पुस्तकालयको पूर्व अध्यक्ष एंव समाजसेवी तिलक शर्मा, आकाशवाणी सिलगढीको कार्यक्रम निष्पादक योगेन्द्रराज सुन्दास उपस्थित थिए। अतिथिहरूमा बाहुलीबाट पाद्री गङ्गाप्रसाद प्रधानको तस्वीरमा धुप दिप प्रज्वलन गरी थालिएको कार्यक्रममा मणिपुरको घटनामा शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ।

गोमा सुब्बाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत सम्भाषण पाद्री गङ्गाप्रसाद प्रधान प्रतिष्ठानको संयोजक राजीव सुब्बाले राखेका थिए। कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानद्वारा लिखित ‘प्रभु अर्जी सुनिदेऊ-गोर्खालीले मुक्ति पाउने झोरा खोलिदेऊ’ नामक गीतलाई स्वागत गीतको रुपमा अभिदान सुब्बा र साथीहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा सालिग निर्माण समितिको मुख्य संयोजक तिलक शर्माले सालिग निर्माण र अनावरण विषयमा जानकारी गराउँदै पाद्री गङ्गाप्रसाद प्रधानमाथि विभिन्न कार्यहरू अझैं गरिनु पर्ने विषयमा बताएका छन्।कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार सलोन कार्थकले पाद्री गङ्गाप्रसाद प्रधानद्वारा सम्पादित गोर्खे खबर कागत् र यसमा प्रकाशित विज्ञापनहरू विषयमा ऐतिहासिक र चाखलाग्दो प्रसंगहरू उल्लेख गर्दै जानकारी गराएका छन्। उनले गोर्खे खबर कागतमा प्रकाशित विज्ञापनहरुमा रहेको त्यसताकको भाषा शैलीहरू उल्लेख गर्दै ती विज्ञापनहरूले त्यसताकको बाटो-घाटो, मार्गहरू र स्थानहरूको उल्लेख गरिएको बताएका छन्। कार्थकले विज्ञापनमा खरसाङको गोर्खा लाईब्रेरीको भवन निर्माणको लागि सहयोग राशि संकलनको पनि जानकारी रहेको, विभिन्न पुस्तकहरूको विज्ञापन रहेको, पारसमणि प्रधान र शेषमणि प्रधानद्वारा लिखित ९ वटा पुस्ककहरूको सूची सन् १९२६ मा प्रकाशित विज्ञापनमा उल्लेख रहेको, स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको जासुस उपन्यासको पनि गोर्खे खबर कागतमा विज्ञापन रहेको बताएका छन्। कार्यक्रममा खरसाङ महाविद्यालयको सह प्राध्यापक योगेस खातीले ‘भारतीय नेपाली समुदाय अनि पाद्री गङ्गाप्रसाद प्रधान’ विषयमा वार्ता राखेका थिए। उनले सन् १९०१ देखि पाद्री गङ्गाप्रसाद प्रधानद्वारा सम्पादित गोर्खे खबर कागतको राम्रो प्रभाव थियो किनभने सन् १९१३ मा भारतको अग्रणी संस्था गोर्खा जनपुस्ताकालय खरसाङको स्थापना सन् १९१३ मा अनि सन् १९४३ मा अखिल भारतीय गोर्खा लिगको स्थापना भएको बताएका छन्। सह प्राध्यापक योगेस खातीले कतिजनाले पाद्री गङ्गाप्रसाद प्रधानको अघि पाद्री नाम हटाउनु पर्ने वकालत गरे पनि यो कुरा पाद्री लेखिन्दा केही नहुने बताउँदै पाद्री लेखिनु भारतीय बहुल्यताको एक अंश हो अनि भारतीय नेपाली साहित्यलाई एकजना इसाईले अगुवाई गरेका थिए भनी बताएका छन् । उनले अंग्रेजहरूले धर्म मात्र प्रचार गरेनन् तर साहित्यको पनि उन्नतिमा भूमिका निर्वाह गरेका थिए भनी बताउँदै यी उल्लेखित प्रसंगमा पाद्री लेख्नुमा कुनै अनर्थ नहुने पनि बताएका छन्।

कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले आफ्नो अध्यक्षीय सम्भाषणमा पाद्री गङ्गाप्रसाद प्रधानको विषयमा अध्ययन र शोध गर्नेहरूको लागि पाद्री गङ्गाप्रसाद प्रधानको विषयमा रहेको बहुमूल्य दस्तावेजहरू उपलब्ध भए गोर्खा जनपुस्ताकालयलाई पनि प्रदान गरिदिने प्रमुख अतिथि वरिष्ठ साहित्यकार सलोन कार्थक समक्ष अनुरोध गरे। उनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन पनि राखेका थिए। कार्यक्रममा आशा मुखिया लामा, गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्ष प्रकाश प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।