विधानसभा अध्यक्ष अरूण उप्रेतीले गरे तीन दिवसीय तेण्डोङ ल्हो रूम फात पर्वको उद्घाटन

IMG-20230806-WA0416.jpg

गान्तोकः लेप्चा समुदायको महान पर्व तेञ्डोङ ल्हो- रूम फात आज राज्यस्तरीयरूपमा राजधानीमा उद्घाटन गरियो। सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेतीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले यो पर्व लेप्चा समुदायको महान र पारम्पारिक पर्व रहेको र यसलाई निरन्तर पालन गर्नुपर्ने सुझाउ दिए। लेप्चा समुदायको निम्ति यो पर्व अति नै महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ। यस पर्वको छुट्टै विशेषता रहेको कारण पनि यसको महत्व अलग रहेको उनले बताए।

लेप्चा समुदायहरू प्रकृतिको पुजारी रहेको र उनीहरूले प्रकृतिको सरंक्षणको निम्ति आजको दिनमा पूजा अर्चना गर्ने चलन रहेको जानकारी गराए। यस पर्वको अवसरमा राज्य सरकारले विदा घोषित गरेको बताउँदै वर्तमान सरकार प्रत्येक जातिको भाषा, साहित्य, संस्कृति र धर्मको संरक्षण गर्न कटिवद्ध रहेको उनले किटान गरे। यस पर्वबारे नयाँ पुस्तालाई पनि जानकारी गराउन आवश्यक रहेको उनले महुसस गरेका छन्।

यसै क्रममा आयोजक समितिका संयोजक छिरिङ वाङचुक लेप्चाले दस वर्षपछि राजधानीको एमजी मार्गमा यसरी स्टल लगाएर यो पर्व पालन गरिएको बताए। यस कार्यक्रमको थिम नेट जिरो रहेको छ, जसको माध्यमद्वारा प्रदुर्षण कम गराउन साथै यसलाई नियन्त्रण गराउने आयोजक समितिको मुख्य लक्ष्य र उद्देश्य रहेको जानकारी गराए। उनले बताए अनुसार, आजदेखि शुरू भएको तीन दिवसीय कार्यक्रमको समापन आगामी 8 अगस्तको दिन मनन केन्द्रमा हुनेछ भने सो कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयं मुख्य अतिथिकोरूपमा उपस्थित हुने छन्।

यस तीन दिवसीय कार्यक्रम अन्तर्गत आजदेखि एमजी मार्गमा सेल्फ हेल्प ग्रुपद्वारा ३० वटा स्टलमा उनीहरूद्वारा उत्पादित बस्तुहरू प्रदर्शन साथै बिक्रीको निम्ति राखिएको बताए। यसरी नै आज नै चिन्तन भवनमा तेन्डोङ नलेज सिरिज पनि सम्पन्न भइरहेको छ। सोही प्रकारले भोलि मनन केन्द्रमा नृत्य र गायन प्रतियोगिताको पनि आयोजना गरिने भएको छ। सो प्रतियोगिताबाट छनौट गरिएका तीन जना कलाकाहरूले आगामी ८ अगस्तको दिन गीत गाउने अवसर पाउने उनले बताए। आजको यस कार्यक्रममा सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, मेयर निल बहादुर छेत्री, उपमेयर छिरिङ छिरिङ पाल्देन भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement