कालचिनीः गत शुक्रबारको दिन फेसबुक पोस्टले गर्दा पक्राउ परेका चुवापाड़ा चियाबारी निवासी आदिवासी युवा सामाजिक कार्यकर्ता अभीजित नागलाई पुलिसले पक्राउ गरेर जेल हिफाजतमा पठाएको विरुद्ध चुवापाड़ा लगायत डुवर्सका विभिन्न ठाउँहरूबाट अभीजित नागलाई रिहाई गरिनु पर्ने दाबी उठिरहेको क्रममा आइतबार वी वान्ट जस्टिसको नारालाई अघि सार्दै प्रायः २०० भन्दा अधिक मानिसहरूले कालचिनी थाना घेराउ गऱ्यो। गणतन्त्रमा कसैको विरोध गर्नु कुनै अपराध होइन र अभीजित नागले त्यस्तो कुनै ठूलो अपराध नगरेको केवल सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दा तिनलाई पक्राउ गरेर अन्यान्य गरेको भन्दै आइतबार अभीजित नागका समर्थकहरूले कालचिनी थाना अघि प्रदर्शन गरे।
ज्ञात रहोस, गत शुक्रबार कालचिनी थानाका पुलिसबलले आदिवासी युवा सामाजिक कार्यकर्ता अभीजित नागलाई फेसबुकमा सत्तारूढ़ दलका जिल्ला सभापति, मन्त्री र आईएनटीटीयूसीका जिल्ला सभापतिको नाम लिएर चियाबारीको जमीनको पट्टा मामिलाको सन्दर्भमा दलाल भनि पोस्ट गरेकोमा पक्राउ गरेको थियो भने तिनलाई आईपीसी धारा ३२५, ३४१ र ५०० अन्तर्गत मुद्दा हालेर अलिपुरद्वार जिल्ला अदालतमा पठाएको थियो भने अदालतले अभीजित नागलाई जेल हिफाजतमा पठाएको थियो।
यसरी वाक स्वतन्त्रतामाथि कुठाराघात भएको भन्दै अभीजित नागको समर्थनमा कालचिनी एवम् चुवापाड़ा क्षेत्रको युवा अनि नागरिक समाजले विरोधिता गर्दै अविलम्ब अभीजित नागलाई रिहाई गरिनु पर्ने दाबीमा नारा गर्दै आइरहेको थियो। आइतबार यसै सन्दर्भमा कालचिनी थाना घेराउ गरिएको थियो।
प्रायः एक घन्टा भन्दा अधिक समयसम्म थाना अघि प्रदर्शनपछि कालचिनी थाना प्रशासनले अभीजित नागको जमानत सोमबारसम्म हुने आश्वासन पाएपछि नै उक्त विरोध प्रदर्शन समाप्त भएको प्रदर्शनकारी क्रिस्चियन खड़िया, धीरज टोप्पो साथै अन्यान्यले जनाएका छन्।
लोकतन्त्र देशमा वाक स्वतन्त्रतामाथि हस्तक्षेप भएको र निर्दोष अभीजित नागले बिना जमानत रिहाई पाउनु पर्ने दाबी गरिएको छ।











