सूचना एवं सञ्चार प्रौद्योगिकीको प्रयोगबाट पुस्तकालयहरूको स्वरूप फेरिँदैछ: राष्ट्रपति

n5253750981691264519321151dd9fe94088279a1d3e77ec1f268644a418c756ac0734b9ffef37f77b2db1c.jpg

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले शनिवार भनिन्, सूचना एवं सञ्चार प्रौद्योगिकीको प्रयोगबाट पुस्तकालयहरूको स्वरूप फेरिँदैछ जसले गर्दा पुस्तकालयहरू अधिक सुलभ बन्दै गइरहेका छन्।

राष्ट्रपतिले शनिवार नयाँ दिल्लीको प्रगति मैदानमा आयोजित “पुस्तकालय महोत्सव- २०२३” को उद्घाटन गरेपछि समारोहलाई सम्बोधन गरिरहेकी थिइन्। यस दुई दिवसीय महोत्सव पुस्तकालयहरूको विकास र डिजिटलीकरणलाई प्रेरित गर्न तथा पढ़्ने संस्कृतिलाई विकसित गर्ने उद्देश्यले संस्कृति मन्त्रालयद्वारा आयोजन गरिएको छ।

पुस्तकालय महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, पुस्तकालयहरूको विकास समाज औ संस्कृतिको विकाससित सम्बन्धित छ। यो सभ्यताहरूको प्रगतिको मापदण्ड पनि हो। इतिहास यस्ता सन्दर्भहरूले भरिएको छ जसमा आक्रमणकारीहरूले पुस्तकालयहरूलाई नष्ट गर्न आवश्यक ठाने। यसबाट थाहा लाग्छ कि पुस्तकालयहरूलाई कुनै देश वा समाजको सामूहिक चेतना तथा बुद्धीको प्रतीक मानिएको छ। उनले भनिन्, आधुनिक युगमा यस्ता घटनाहरू नभए पनि दुर्लभ पाण्डुलिपिहरू र पुस्तकहरू हराउने घटनाक्रम अहिले पनि यथावत छ। दुर्लभ पुस्तक र पाण्डुलिपिहरूलाई फिर्ता ल्याउने प्रयासहरू भइरहेको जानकारी पनि उनले गराइन्।

पुस्तकालय सभ्यताहरूबीच सेतुको काम गर्ने बताउँदै राष्ट्रपतिले भनिन्, प्राचीन अनि मध्यकालमा कैयौं देशहरूका मानिसहरूले भारतबाट पुस्तकहरू लैजान्थे, त्यसको अनुवाद गर्थे तथा ज्ञान प्राप्त गर्थे। यस्ता प्रयासहरूको केन्द्रमा यो विचार समाहित छ कि पुस्तक र पुस्तकालय मानवताको साझा धरोहर हो। एउटा सानो किताबसित विश्व इतिहासको दिशा बदल्ने क्षमता हुन्छ। महात्मा गान्धीको आत्मकथाको उल्लेख गर्दै उनले भनिन्, उनले जोन रस्किनको किताब ‘अनटू दिस लास्ट’ पढ़ेपछि उनको जीवनमा परेको ठूलो सकारात्मक प्रभावको उल्लेख गरेका छन्। किताबहरूमा धरतीको सुगन्ध र आकाशको विशालता समाहित हुन्छ। राष्ट्रपतिले पाण्डुलिपिहरूको संरक्षण र पुस्तकालयहरूको आधुनिकीकरण तथा डिजिटलीकरणको प्रयास अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सूचना एवं सञ्चार प्रौद्योगिकीको प्रयोगबाट पुस्तकालयहरूको स्वरूप परिवर्तन भइरहेको बताइन्। उनले भनिन, ‘वान नेशन, वान डिजिटल लाइब्रेरी’ को राष्ट्रिय लक्ष्यलाई हासिल गर्नको लागि भारतको राष्ट्रिय भर्चुअल लाइब्रेरी विकसित गरिँदैछ। राष्ट्रिय पुस्तकालय मिशनको सफलताबाट पुस्तकालयहरूसित आबद्ध हुने र किताबहरू पढ़्ने संस्कृति सशक्त बन्नेछ। राष्ट्रपतिले पुस्तकालयहरूलाई सामाजिक सम्पर्क, अध्ययन र चिन्तनको केन्द्र बनाउनुपर्ने आवश्यक्तामाथि बल दिँदै अन्तमा पुस्तकालयहरूको विकासको राष्ट्रिय अभियानलाई अघि बढ़ाएकोमा संस्कृति मन्त्रालयको सराहना समेत गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement