कालचिनी: जयगाउँ दुई नम्बर ग्राम पञ्चायत अन्तर्गत रहेको झरना बस्तीस्थित एसएसके स्कूलमा केवल एउटै शिक्षिकाको भरमा स्कूल येनकेन चलिरहेकोले विद्यार्थीहरूको शैक्षिक स्तर तल झरेको अवस्था अनि स्कूलमा पिउने पानीको व्यवस्था नरहेकोले आज झरना बस्ती बासिन्दाहरूले स्कूल परिसरमा आएर विक्षोभ प्रदर्शन गऱ्यो।

अभिभावकहरूले बताएअनुसार एकमात्र एसएसके स्कूलमा पीपी कक्षा र कक्षा १ देखि ४ सम्मको विद्यार्थीहरू रहेको छ। तर आजसम्म केवल एकजना शिक्षिकाले काम चलाईरहेको छ। धेरैपल्ट यस विषयमा सम्बन्धित विभागमा कुरा गर्दा पनि आजसम्म कुनै काम नभएकोले अब आगामी पञ्चायत चुनाउलाई झरना बस्तीले बहिष्कार गर्न बाध्य हुने जनाएका छन्। यता उक्त एसएसके स्कूलका शिक्षिका अर्पणा सरकारले बताएअनुसार स्कूलमा ३ जना शिक्षकहरू थियो तर २ जना पहिलै रिटायर्ड भइसकेकोले अहिले एक्लैले ५ वटा क्लास थेग्न परेको बताएकी छन्। अर्कोतिर जयगाउँ तृणमूल नेता अब्दुल मनिक मीयाँले यसबारे आफू अनभिज्ञ रहेको र यसलाई लिएर सम्बन्धित विभागमा कुरा गरिने जनाएका छन्।