खरसाङ: मानव उत्थान सेवा समिति खरसाङ तहशिलद्वारा बुद्ध जयन्तीको उपलक्ष्यमा सफाई अभियान साथै सत्संग कार्यक्रम आयोजना गर्यो। मानव उत्थान सेवा समिति, केन्द्रीय समितिको दिशा निर्देशनअनुसार खरसाङ तहशिलअन्तर्गत विभिन्न शाखाहरूमा युवा प्रकोष्ठ साथै प्रेमी भक्तजनद्वारा बुद्ध जयन्तीको उपलक्ष्यमा सफाई अभियान चलाइयो। महात्मा अचला बाईजीको अगुवाइमा खरसाङ अनि महानदी शाखाका युवावर्ग अनि प्रेमी भक्तजनले पूर्वान्हमा खरसाङस्थित महानदी रेलवे स्टेशन अनि सार्वजनिक भवन परिसरको सफाई गरियो साथै उत्तरार्धमा स्थानीय ज्ञानबोध आश्रम परिसरमा टोलीले सर-सफाई गरे। यसै गरी खरसाङ तहशिलअन्तर्गत बालासन, गिद्द पहाड़ शाखाद्वारा पनि आ-आफ्ना क्षेत्रहरुमा सफाई अभियान गरे। यसैगरी मानव उत्थान सेवा समिति, खरसाङ तहशिल अन्तर्गत महानदी शाखाद्वारा बुद्ध जयन्तीको पावन अवसरमा महानदीस्थित सार्वजनिक भवनमा महान सत्संग कार्यक्रमको आयोजना गरियो। खरसाङ तहशिल प्रभारी महात्मा मनोहरी बाईजी, महात्मा अचला बाईजी साथै विशिष्ट अतिथिगणको बाहुलीबाट दीप प्रज्ज्वलन साथै गुरु महाराजजीको तस्वीरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरे। कार्यक्रममा महानदीका एक विशिष्ट व्यक्तित्व शेखर प्रधानको मुख्य आतिथ्य रहेको थियो। खरसाङ तहशिल सचिव अनुराधा सेवाद्वारा संचालित कार्यक्रममा महानदी शाखाका कर्मठ सदस्य अमृत कार्कीले स्वागत वक्तव्य राखे। खरसाङबाट बृज कमल राईले समितिको परिचय, कार्य अनि उद्देश्यबारे संक्षिप्तमा वक्तव्य प्रस्तुत गरे। मानव उत्थान सेवा समितिको केन्द्रीय समितका वरिष्ठ सदस्य साथै युथ कोर्डिनेटर कुमार योञ्जनले बौद्ध धर्म ग्रन्थमाथि आधारित सारगर्भित वक्तव्य राखे। कार्यक्रममा महात्मा अचला बाईजी साथै प्रभारी महात्मा मनोहरी बाईजीले आफ्नो ओजस्वी सत्संग प्रवचन प्रस्तुत गरिन्। उनले भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा भए पनि उनले भारतको पुण्य भूमिमा नै बोधिसत्व प्राप्त गरेको बताउँदै भगवान बुद्ध त्याग अनि शान्तिका प्रतीक हुन्, संसारिक वैभव अनि मोहको त्याग गरी राजकुमार सिद्धार्थ भगवान बुद्ध बने भनी बताए। उनले महान आत्मज्ञानद्वारा बोधिसत्व प्राप्त गरी जीवित रहँदा नै निर्वाण प्राप्त गरे भन्दै आजको मानव समाजमा गुरु महाराजजीले जन-जनमा यही आत्मज्ञानको प्रचार प्रसारद्वारा सारा विश्वमा शान्ति अनि सद्भावनाको सन्देश दिइरहनु भएको बताइन्। कार्यक्रममा भजन कलाकार दीक्षित तामाङ, अन्जु सिंह, सृष्टि तामाङले भक्तिमय भजन संगीत प्रस्तुत गरे। कार्यक्रममा बालासन, मार्गरेटस होप, तीनधारे, गिद्ध पहाड़, घैयाबारी, खरसाङलगायत महानदीका धेरै भक्तजन साथै अतिथिहरूको उपस्थिति रहेको थियो।