५ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। समथार जनमैदानमा भएको पहिलो म्याचमा डन बस्को स्कूलले जेजे (जीवन ज्योति) बोइजलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट फादर सेभियो राईले २ गोल गरे जबकि एउटा गोल आत्मघाती रह्यो। यसरी दोस्रो म्याचमा समथार हायर सेकेण्डरी स्कूलको ए टीमले तामयांगलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रशान्त भुजेलले २ गोल गरे। यसअघि बिहीवार खेलिएको म्याचमा समथार हायर सेकेण्डरी स्कूलले पूर्व काबीलाई पेनल्टी शूटआउटमा पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी दोस्रो म्याचमा सेजुम बी टीम नआउँदा वक्ओभर पाएर पन्बुले अघिल्लो राउण्डमा स्थान बनायो। यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।