रोयल च्यालेञ्जर्स बेंगलुरुका मुख्य प्रशिक्षक बने एण्डी फ्लावर

IMG-20230805-WA0154.jpg

५ अगस्तः इण्डियन प्रीमियर लीग (आईपीएल)-को गत सीजनमा निराशाजनक प्रदर्शनपछि रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले सञ्जय बांगरको स्थानमा एण्डी फ्लावरलाई टीमको मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। फ्लावरले यसअघि आरसीबी-का कप्तान फाफ डू प्लेसिससँग क्यारेबियन प्रीमियर लीगमा सेण्ट लूसिया किंग्समा एकसाथ काम गरेका थिए। फ्लावरले आरसीबी-मा मुख्य प्रशिक्षकको साथ-साथ क्रिकेट निदेशकको जिम्मेवारी पनि निर्वाह गर्नेछन्। यसअघि क्रिकेट निदेशकको पदमा माइक हेसन रहेका थिए। फ्लावरसँग अनुबन्धको अवधिबारे चाहिँ अहिलेसम्म जानकारी सार्वजनिक गरिएको छैन। फ्लावरले एउटा बयानमा भनेका छन्, म माइक हेसन र सञ्जय बांगरको कामलाई जान्दछु अनि उनीहरूको कामलाई सम्मान गर्छु। म विशेषगरी फाफसँग फेरि काम गर्न उत्साहित छु। हामीले अतीतमा एकसाथ मिलेर असल काम गरेका छौं। म यस साझेदारी र सम्बन्धलाई केही ठूलो अनि असल बनाउन उत्सुक छु।
फ्रेञ्चाइजीका उपाध्यक्ष राजेश मेननले बताएअनुसार, आउँदो केही महिनामा एकजना नयाँ क्रिकेट अपरेशन निदेशक (डीसीओ) नियुक्त गरिने सम्भावना रहेको छ। नयाँ डीसीओ-ले टीमको वरिष्ठ प्रबन्धनलाई सहायक स्टाफ समूहमा फेरबदल गर्नेबारे सल्लाह दिनेछन्। नयाँ डीसीओ-ले सहायक स्टाफको नयाँ समूह पनि लिएर आउने प्रबल सम्भावना रहेको । यसले एजम ग्रिफिथ्स (बलिंग कोच), एस श्रीराम (सहायक कोच) र मलोलन रंगराजन (लीड स्काउट अनि फील्डिंग कोच)-को भूमिकामामाथि प्रश्न उठ्न सक्छ। गत आईपीएल सीजनको अन्तसम्म फ्लावर लखनऊ सुपर जाइण्ट्सका मुख्य प्रशिक्षक थिए। उनको यस भूमिकाको निम्ति राजस्थान रोयल्ससँग पनि कुराकानी चलिरहेको सुन्नमा आएको थियो। फ्लावरको मार्गदर्शनमा लखऊको टीमले लगातार दोस्रो वर्ष आईपीएलको प्लेअफ्-मा स्थान बनाएको थियो। जुलाईमा लखनऊ सुपर जाइण्ट्सले फ्लावरको स्थानमा जस्टिन लेंगरलाई आफ्नो मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
एकजना खेलाड़ीको रूपमा मात्र नभएर फ्लावरको एकजना प्रशिक्षकको रूपमा पनि निक्कै ख्याति रहेको छ। ईंग्ल्याण्डको टीमले उनकै प्रशिक्षणमा २०१०-मा टी२० वर्ल्ड कपको खिताब जितेको थियो। यसबाहेक पीसीएल, हण्ड्रेड (पुरुष) र आईएलटी२० प्रतियोगितामा पनि उनले आफ्नो टीमलाई च्याम्पियन बनाएका थिए। उनकै मार्गदर्शनमा सेण्ट लूसियाको टीमले दुईपल्ट सीपीएलको फाइनलमा स्थान बनाएको थियो। हालै सम्पन्न एशेज सीरीजमा पनि उनी अष्ट्रेलियाई टीमका सल्लाहकार थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement