४ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा आज भएको पहिलो म्याचमा ब्रदरहूड फूटबल क्लबले अल सिक्किम फरेष्ट युनाइटेडलाई २-१-ले पराजित गऱ्यो।

विजेता टीमका आकाश सुन्दासलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दोस्रो म्याचमा पाक्योंग जिल्ला पुलिसले रियुनाइटेड दार्जीलिङलाई ११-०-ले पिट्यो। विजेता टीमका इयूगेने निमेकोलाई प्लेयर अव् द म्याच चयन गरियो। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ।

यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जेभीसी सिंगताम च्याम्पियन भएको थियो।