गान्तोकः एसकेएम पार्टीको सरकार गठन भएयता सिक्किम राज्यका गाउँ-घरका समस्याहरू अझै बढेर गएको, सडक एवम् यतायातको माध्यम्को अवस्था एकदमै दयनीय र जीर्ण भएर गएको र जनताका आयस्रोत घटेर गएको, राज्यको शान्ति-श्रृङ्खला भङ्ग भएको एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष डीबी थापाले आरोप लगाएका छन्। आज मानेबुङ देन्ताम समष्टिको सभामा बोल्दै उनले सरकारमाथि उक्त आरोप लगाएका हुन्।
एसडीएफ पार्टीको सिक्किम बचाऔँ अभियानअन्तर्गत आज मानेबुङ देन्ताम समष्टिको बेगामा समष्टिस्तरीय सभा डीबी थापाको अध्यक्षतामा आयोजन गरिएको थियो। सभामा अध्यक्षीय सम्बोधनका क्रममा थापाले एसकेम सरकार सिक्किमेली साधारण जनताका बूनियादी आवश्यकता र अधिकारप्रति गम्भीर नरहेको बताए। उनले जनताको अधिकारलाई किन्ने कोसिस हुनसक्ने अथवा धम्की दिन सक्ने बताउँदै जनता डराउनु हुँदैन भन्दै जनताले आफ्नो सरकार कसरी ल्याउने भन्ने विषयमा सचेत हुनुपर्ने, जनताले सोचेर, बुझेरमात्र निर्णय लिनु पर्ने सन्देश लिएर एसडीएफ पार्टी जनतामा आएको डिबी थापाले बताए।
सभामा एसडीएफका वरिष्ठ उपाध्यक्ष डीबी थापाले भने, एसकेएम सरकारले ३७१ एफ रक्षा गर्न नसकेको, पुराना कानुनको सुरक्षा गर्न एसकेएम सरकार चुकेकोले आरोप लगाए।अहिले सिक्किमको अवस्था धरासयी र नाजुक बनेको छ भन्दै एसकेएम सरकारले सिक्किमको भविष्य एकपछि एक गर्दै खतरामा पारेको उनले दाबी गरे। उनले चिन्ता प्रकट गर्दै भने, सिक्किम दार्जीलिङ एकीकरणको कुरा उठिरहेको छ। सरकार यस विषयमा आजसम्म सिरियस भएको छैन ।
एसकेएम पार्टीले जनतालाई धम्काएर, डर देखाएर होइन दम छ भने एसडीएफ पार्टीलेभन्दा राम्रो काम गरेर २०२४-को चुनाउ जितेर देखाउन थापाले चुनौती पनि दिए। एसडीएफ पार्टीले एसकेएम पार्टीको ढुङ्गा-मूढा र अराजकतालाई सामना गरेर जनताको आवाज बनिरहेको अवगत गराउँदै सिक्किम बचाउन सबै जनता एकजुट बन्नु पर्ने उनले आह्वान गरे। सभालाई एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष टीएन शर्मा, प्रशासनिक मामिला उपाध्यक्ष देव गुरुङ, सीएलईसी अध्यक्ष अर्जुन गुरुङ, सङ्गठनिक उपाध्यक्ष पेम्बा सलाखा, डा. डीएस केरोङगी आदिले पनि सम्बोधन गरेको जानकारी एसडीएफ पार्टीले प्रेस विज्ञप्तिमा दिएको छ।